
पर्सा, २१ पौष
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार सोमबार दिउँसो १:०० बजेदेखि अर्को आदेश नआएसम्म उक्त क्षेत्रमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आदेशअनुसार वीरगंज महानगरपालिकाको देहायका चार किल्लाभित्र निषेधाज्ञा प्रभावकारी रहनेछ।
पूर्व: बसपार्क , पश्चिम: सिर्सिया पुल , उत्तर: पावर हाउस चोक र दक्षिण: शंकराचार्य गेटसम्म निषेधित क्षेत्रको सीमाङ्कन गरीएको छ।
प्रशासनले उक्त आदेशको उल्लंघन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ। शान्ति, सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्नका लागि निषेधाज्ञा आवश्यक परेको प्रशासनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा हस्ताक्षरित आदेशमा सर्वसाधारणलाई सहयोग गर्न र कानुनको पालना गर्न आग्रह गरिएको छ। निषेधाज्ञाका कारण सर्वसाधारणको आवागमन तथा दैनिक गतिविधिमा केही असहजता आउन सक्ने भए पनि दीर्घकालीन शान्ति र सुरक्षाका लागि यो कदम आवश्यक भएको प्रशासनको ठहर छ।



