कलैया, २१ पौष
सोमबार कलैया उपमहानगरपालिकाको सभा हलमा नव पदस्थापित प्रमुख प्रशासकीय अधिकृत राम बिनय कुमार सिंहको हार्दिक स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। उपमहानगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नगर प्रमुख बिनोद साह तथा उप–प्रमुख रौशन प्रबिनले प्रमुख प्रशासकीय अधिकृत सिंहलाई फूलमाला र दोसल्ला ओढाएर औपचारिक रूपमा स्वागत तथा सम्मान गर्नुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख साहले स्थानीय सरकारको प्रशासनिक नेतृत्व अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सिंहको अनुभव र क्षमताबाट कलैया उपमहानगरपालिकाको सेवा प्रवाह अझ प्रभावकारी, पारदर्शी र जनमुखी बन्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी उप–प्रमुख रौशन प्रबिनले नव पदस्थापित प्रमुख प्रशासकीय अधिकृतसँग सहकार्य गर्दै सुशासन, विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरवासीको अपेक्षा पूरा गर्न प्रशासनिक संयन्त्र सशक्त हुनु आवश्यक रहेको धारणा राख्नुभयो।
सम्मान ग्रहणपछि बोल्दै प्रमुख प्रशासकीय अधिकृत राम बिनय कुमार सिंहले आफूलाई दिइएको जिम्मेवारीलाई इमान्दारी र निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले जनप्रतिनिधि, कर्मचारी र सरोकारवालासँग समन्वय गरी कलैया उपमहानगरपालिकालाई व्यवस्थित, सुशासित र विकासमुखी बनाउने लक्ष्यसहित काम गर्ने बताउनुभयो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले नव पदस्थापित प्रमुख प्रशासकीय अधिकृतलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।