धार्मिक प्रदर्शनका क्रममा पत्रकारमाथि आक्रमणप्रति महासंघ पर्साको आपत्ति

44

वीरगंज , २१ पौष

पछिल्लो समय वीरगंज लगायत विभिन्न स्थानमा भएका धार्मिक प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका सञ्चारकर्मी माथि आक्रमण तथा दुर्व्यवहारका घटना बढ्दै गएको भन्दै नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर आपत्ति जनाएको छ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहमाथि भएको आक्रमण घटनाको कडा शब्दमा निन्दा गरिएको छ। प्रदर्शनको दृश्य संकलन गरिरहेका बेला केही प्रदर्शनकारीहरूले साहको मोबाइल खोसी उनीमाथि आक्रमण गरेको घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भन्दै महासंघले आपत्तिजनक र निन्दनीय कार्यको संज्ञा दिएको छ।

महासंघका अनुसार समाचार संकलनको क्रममा पत्रकारमाथि हुने आक्रमण, अवरोध र दुर्व्यवहारले स्वतन्त्र पत्रकारिता मात्र नभई आमनागरिकको सुसूचित हुने मौलिक अधिकारमा समेत गम्भीर आघात पुर्‍याउने गर्दछ। विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरिएको छ।

त्यसैगरी, महासंघले धार्मिक समुदायसँग सम्बन्धित प्रदर्शन र गतिविधिबारे समाचार प्रकाशन तथा प्रसारण गर्दा संयम, संवेदनशीलता र व्यावसायिक सतर्कता अपनाउन सञ्चारकर्मीहरूलाई आग्रह गरेको छ। पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) अनुसार जात, धर्म, सम्प्रदाय, भाषा र संस्कृतिबीचको सद्भावमा असर पार्ने सामग्री उत्पादन तथा प्रसारण गर्न नहुने व्यवस्था रहेको महासंघले स्मरण गराएको छ।

महासंघले पछिल्लो समय केही सञ्चारमाध्यम र सञ्चारकर्मीबाट आचारसंहिताविपरीत सामग्री प्रसारण भएको गुनासो आएको उल्लेख गर्दै विशेषगरी लाइभ प्रसारणका क्रममा सम्प्रदायबीचको सद्भावमा नकारात्मक प्रभाव पार्ने अभिव्यक्तिहरू देखिएको विषयलाई गम्भीरतापूर्वक नियालिरहेको जनाएको छ।

नेपाल पत्रकार महासंघ, पर्सा शाखाले सबै सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता पालना गर्दै व्यावसायिक जिम्मेवारीका साथ पत्रकारिता गर्न, तथा सरोकारवाला सबै पक्षलाई प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारहरूले भयमुक्त वातावरणमा काम गर्न पाउने अवस्था सुनिश्चित गर्न अपिल गरेको छ।

उक्त प्रेस विज्ञप्तिमा महासंघ पर्सा शाखाका सचिव विजयकुमार महतोको हस्ताक्षर रहेको छ।

Leave A Reply

Your email address will not be published.