मधेशसमाचार

लाइसेन्स वितरणमा अनियमितता र अख्तियारको नाम दुरुपयोग भएको आरोप

बारा , २३ पौष

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक किरण कार्कीको सेवा अवधिमा आर्जित सम्पत्ति र कार्यसम्पादनबारे नागरिक समाजले गम्भीर छानबिनको माग गरेको छ। सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण प्रक्रियामा व्यापक अनियमितता भएको आरोप लगाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको हो।

नागरिक समाजका प्रतिनिधिहरूका अनुसार कार्कीले आफ्नो करिब १३ वर्षे सेवा अवधिको अधिकांश समय यातायात व्यवस्था कार्यालय अन्तर्गत लाइसेन्स वितरण हुने शाखामा कार्यरत रहँदा लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षामा नक्कली परीक्षार्थीहरू समावेश गराई पास गराउने कार्यमा संलग्न रहेको आशंका छ। उनीहरूका दाबीअनुसार यसरी व्यापक भ्रष्टाचार गरी अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरिएको हुन सक्ने देखिएको छ।

उपलब्ध विवरणअनुसार, कार्की वि.सं. २०७० असोज १५ गते प्रहरी जवान पदमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी वि.सं. २०८० मंसिर १ गते प्रहरी नायब निरीक्षकमा बढुवा भएका हुन्। हाल उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय बारामा कार्यरत रहँदै यातायात व्यवस्था कार्यालय बारा, कलैयाको ट्रायल शाखासँग सम्बन्धित जिम्मेवारीमा रहेको बताइन्छ। यसअघि उनले वीरगञ्ज र रौतहटका यातायात कार्यालयका ट्रायल सेन्टरहरूमा समेत काम गरिसकेको जनाइएको छ।

नागरिक समाजको आरोपअनुसार, कार्कीले लाइसेन्स वितरण प्रक्रियामा अनियमितता गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम प्रयोग गरी प्रभाव देखाउने गरेको र यसले संस्थाको समेत बदनामी भएको दाबी गरिएको छ। साथै, आर्जित सम्पत्ति श्रीमती, आमा–बुवा, भाइ, सासु तथा ससुराको नाममा राखिएको हुन सक्ने आरोपसमेत लगाइएको छ।

नागरिक समाजले यातायात व्यवस्था कार्यालय बारामा विभिन्न मितिमा सञ्चालन भएका लिखित परीक्षाका उत्तरपुस्तिका र प्रयोगात्मक परीक्षाका सीसीटीभी फुटेज झिकाई निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेको छ। यसका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंले तत्काल अनुसन्धान अघि बढाउनुपर्ने उनीहरूको भनाइ छ।

यस विषयमा प्रतिक्रिया लिन प्रहरी नायब निरीक्षक किरण कार्कीसँग सम्पर्क गर्न ९८५४०९०२४८ खोज्दा सम्पर्क हुन नसकेको जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button