बारा, २५ पौष
सवारी चालक अनुमतिपत्र वितरण प्रक्रियामा अनियमितता भएको आरोपसहित नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक किरण कार्कीमाथि नागरिक समाजले गम्भीर छानबिनको माग गरेको छ। उनीमाथि सेवा अवधिमा अस्वाभाविक सम्पत्ति आर्जन गरेको र कार्यसम्पादन शंकास्पद रहेको दाबी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको हो।
नागरिक समाजका प्रतिनिधिहरूले प्रहरी मुख्यालय , अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा उजुरी दिएका छन्।
उक्त उजुरीको विवरणअनुसार करिब १३ वर्षे सेवा अवधिमा कार्की लामो समयसम्म यातायात व्यवस्था कार्यालय अन्तर्गत लाइसेन्स वितरणसँग सम्बन्धित शाखामा कार्यरत रहेका छन्। सोही क्रममा लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई आर्थिक चलखेलमा उतिर्ण गराउने गरेको छ।उनीहरूका अनुसार यस प्रक्रियाबाट ठूलो मात्रामा आर्थिक लाभ लिइएको उल्लेख गरीएको छ।
प्राप्त जानकारीअनुसार कार्कीले वि.सं. २०७० असोज १५ गते प्रहरी जवान पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्। पछि वि.सं. २०८० मंसिर १ गते उनी प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए। हाल उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय बारामा कार्यरत रहँदै यातायात व्यवस्था कार्यालय बारा, कलैयाको ट्रायल शाखासँग सम्बन्धित जिम्मेवारी सम्हालिरहेको छन्। यसअघि उनले वीरगंज र रौतहटका यातायात कार्यालयका ट्रायल सेन्टरहरूमा समेत काम गरिसकेको जनाइएको छ।
नागरिक समाजले कार्कीले लाइसेन्स वितरणमा प्रभाव जमाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम प्रयोग गरी त्रास र दबाब सिर्जना गरेको आरोप पनि लगाएको छ। यसले अख्तियारको गरिमामाथि समेत प्रश्न उठेको उनीहरूको भनाइ छ। साथै, सम्भावित रूपमा आर्जित सम्पत्ति परिवारका विभिन्न सदस्य—श्रीमती, आमा–बुवा, भाइ, सासु तथा ससुराको नाममा राखिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ।
नागरिक समाजले यातायात व्यवस्था कार्यालय बारा अन्तर्गत विभिन्न मितिमा सञ्चालन भएका लिखित परीक्षाका उत्तरपुस्तिका र प्रयोगात्मक परीक्षाका सीसीटीभी फुटेज संकलन गरी निष्पक्ष र गहिरो छानबिन गर्न माग गरेको छ। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंले तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने माग गरिएको छ।
यस विषयमा प्रतिक्रिया लिन प्रहरी नायब निरीक्षक किरण कार्कीसँग सम्पर्क गर्ने प्रयास गर्दा ९८५४०९०२४८ नम्बरमा सम्पर्क हुन नसकेको जनाइएको छ।