मधेशसमाचार

बाराको सीमावर्ती नाकामा भारतीय सामानको तस्करी मौलाउँदै, सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न

बाराको सीमावर्ती नाकामा भारतीय सामानको तस्करी मौलाउँदै, सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न

कलैया, २५ पौष

बाराका सीमावर्ती क्षेत्रबाट भारतीय माछा, फूल, चकलेट र तासजस्ता उपभोग्य वस्तुको अवैध ओसार–पसार तीव्र रूपमा बढ्दै गएको स्थानीयवासीले गुनासो गरेका छन्। छौडादानो, घोडासहन पचरौता अन्तर्गतको गुलेरिया सिमानाका प्रयोग गरी दैनिक रूपमा तस्करी भइरहेको आरोप लगाइएको छ।

स्थानीय स्रोतका अनुसार केही तस्कर समूहले पिकअप भ्यान प्रयोग गरी फर्मालिन प्रयोग गरिएको माछा, फूल, विभिन्न ब्राण्डका चकलेट र तास नेपालतर्फ भित्र्याउने कार्य गरिरहेका छन्। यस कार्यमा सियाराम कुशवाहा र सुरेन्द्र साह नामका व्यक्तिहरू संलग्न रहेको दाबी गरिएको छ। उनीहरूले सीमामा खटिएका सुरक्षा निकायका केही कर्मचारीसँग मिलेमतो गरी तस्करीलाई सहज बनाएको आरोप समेत स्थानीयले लगाएका छन्।

तस्करीका सामानहरू सीमावर्ती गाउँका भित्री सडक प्रयोग गरी हेटौंडा र चितवनसम्म पुर्‍याइने गरेको बताइन्छ। केही दिनअघि हेटौंडामा नेपाल प्रहरीले ठूलो परिमाणको तस्करीजन्य सामान बरामद गरेको घटनासँग पनि यिनै समूहको नाम जोडेर चर्चा भइरहेको छ।

स्थानीयवासीका अनुसार यस्ता अवैध गतिविधिबाट राज्यको करोडौं रुपैयाँ बराबरको राजस्व चुहावट भइरहेको छ। जेन–जी लगायतका नागरिक अभियानहरूले राजस्व चुहावट र अवैध गतिविधिविरुद्ध आवाज उठाइरहेका बेला पनि तस्करी रोक्न प्रभावकारी कदम नचालिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।

फर्मालिनयुक्त माछा जस्ता स्वास्थ्यका लागि जोखिमपूर्ण वस्तु खुलेआम नेपाल भित्रिँदा पनि नियन्त्रण नहुनुले उपभोक्ताको स्वास्थ्य र सुरक्षामाथि गम्भीर खतरा उत्पन्न भएको स्थानीयको भनाइ छ। २४ घन्टा सीमामा तैनाथ सुरक्षा संयन्त्र हुँदाहुँदै समेत यति ठूलो परिमाणमा तस्करी हुनु सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठ्ने अवस्था आएको उनीहरूको भनाइ छ।

स्थानीयले सम्बन्धित निकायलाई तस्करीमा संलग्न व्यक्ति र समूहको निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न तथा सीमामा निगरानी कडाइ गर्न माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button