रौतहट २७ पुस
राष्ट्र निर्माण दल नेपालको संगठन विस्तार अन्तर्गत गौर नगरपालिकामा औपचारिक रूपमा नगर कमिटी गठन गरिएको छ। गौर नगरपालिका वडा नं. ४ सोमारना माईको प्राङ्गणमा नगर कमिटी गठन भएको हो ।
सो अवसरमा पार्टीको नीति सिद्धान्त र संगठनात्मक संरचनाबारे जानकारी दिँदै तय गरिएका प्रस्तावहरूमाथि गहन छलफल गरिएको थियो। छलफल पश्चात विधानअनुसार सर्वसम्मत रूपमा ११ सदस्यीय गौर नगर कमिटी गठन घोषणा गरिएको हो। नगर कमिटीका
अध्यक्षमा बिन्देश्वर सहनी, कोषाध्यक्ष गीता देवी, सचिव श्याम सुन्दर यादव , सदस्यहरूमा रविन्द्र पण्डित , रामईश्वर यादव,छेदीराय यादव , सत्यनारायण साह, जगदेश, नागेन्द्र बैठा , नर्लजा देवी,जबिसा खातुन रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य इस्तेयाक अहमदले राष्ट्र निर्माण दल नेपालको राजनीतिक दर्शन, संगठनात्मक लक्ष्य तथा भावी कार्ययोजनाबारे प्रकाश पारे। उनले देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी, सामाजिक विभेद र राजनीतिक अस्थिरताको अन्त्यका लागि जनआधारित र जिम्मेवार राजनीतिक शक्तिको आवश्यकता औंल्याउँदै राष्ट्र निर्माण दल नेपाल त्यसै दिशामा अघि बढिरहेको बताए।
उनले स्थानीय तहमा संगठन मजबुत नबनाई राष्ट्रिय राजनीति सुदृढ हुन नसक्ने धारणा व्यक्त गर्दै नवगठित नगर कमिटीलाई जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे । पार्टीले सबै वर्ग, जाति, समुदाय र पुस्तालाई समेट्ने समावेशी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै गौर नगरबाट संगठन विस्तारको नयाँ अध्याय सुरु भएको बताए।
नगर कमिटी गठनसँगै गौर नगरपालिकामा राष्ट्र निर्माण दल नेपालको संगठनात्मक उपस्थिति थप बलियो बनेको पार्टीले जनाएको छ। पार्टी नेतृत्वले आगामी दिनमा वडा तथा टोलस्तरसम्म संगठन विस्तार गर्दै जनताका समस्या, आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि अघि बढाउने योजना रहेको केन्द्रिय सदस्य सङीता चौधरीले स्पष्ट पारेकी थिइन् ।
अतिथिका रूपमा पत्रकार सत्येन्द्र प्रताप सिंहले गठन भएको नगर कमिटीले स्थानीय तहमा पार्टीको संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि, सुशासन, सामाजिक न्याय र समावेशी राजनीतिक सहभागिताका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन।
सो नगर कमिटी कार्यक्रममा परोहा नगरपालिकाका संयोजक राजेश साह , संजीव सिंह, विभिन्न वर्ग, समुदाय र पेशागत क्षेत्रका नागरिकहरू , समाजसेवी, बुद्धिजीवी, दलित समुदायका प्रतिनिधि, महिला, जेन–जी युवा लगायत विभिन्न राजनीतिक, सामाजिक तथा नागरिक समाजका व्यक्तिहरू सहभागी थिए। कार्यक्रममा सयौंको संख्यामा पार्टी समर्थक, कार्यकर्ता तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।