मधेशसमाचार

सिम्रौनगढ नगरपालिकामा उपप्रमुखद्वारा अभद्र व्यवहारको आरोप, कर्मचारी आन्दोलित

बारा, २८ पौष

सिम्रौनगढ नगरपालिकाकी नगर उपप्रमुख नजबु शेहरले निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेरासँग सोमबार अभद्र व्यवहार गरेको आरोप लागेको छ। उक्त घटनापछि नगरपालिकाका सम्पूर्ण कर्मचारीहरू आन्दोलित भएका छन् भने उनीहरूले जिल्ला प्रशासन कार्यालय बारामा औपचारिक उजुरी समेत दर्ता गराएका छन्।

घटनाको पृष्ठभूमि अनुसार आर्थिक वर्ष २०८२/०८३ को नगरसभामा उपप्रमुख नजबु शेहरले आफैँ बजेट प्रस्तुत गरेकी थिइन्। तर नगरप्रमुख किशोरी प्रसाद कलवारले कर्मचारीहरूलाई हेटौडामा लगेर आफूखुसी बजेट विनियोजन गरेको आरोप लगाउँदै उपप्रमुख शेहरले उच्च अदालत वीरगंजमा मुद्दा दर्ता गराएकी थिइन्।

उक्त मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालत वीरगंजले आंशिक रिट जारी गर्दै नगरसभामा भएको त्रुटि सच्याउन विशेष नगरसभा गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार विशेष नगरसभा आह्वान गर्ने विषयमा सोमबार नगर कार्यपालिकाको बैठक बोलाइएको थियो।

तर कार्यपालिका बैठककै क्रममा विशेष नगरसभा स्थगित गर्नुपर्ने माग राख्दै उपप्रमुख नजबु शेहरले निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेरालाई बन्द कोठाभित्र अभद्र व्यवहार गरेको जानकारी प्राप्त भएको छ। सो घटनाले कर्मचारीहरूमा असन्तोष फैलिएको र कार्य वातावरण नै प्रभावित भएको कर्मचारीहरूको भनाइ छ।

उपप्रमुख शेहरको व्यवहारको विरोधमा नगरपालिकाका सम्पूर्ण कर्मचारीहरू आन्दोलित भई जिल्ला प्रशासन कार्यालय बारामा सामूहिक उजुरी दिएका छन्। उनीहरूले जनप्रतिनिधिबाटै कर्मचारीमाथि हुने दुर्व्यवहार अस्वीकार्य भएको भन्दै सुरक्षा र सम्मानजनक कार्य वातावरणको माग गरेका छन्।

यसैबीच, उपप्रमुख नजबु शेहरको भूमिकाका कारण सिम्रौनगढ नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को सम्पूर्ण बजेट खर्च हुन नसकेको आरोप समेत लागेको छ। बजेट कार्यान्वयनमा आएको अवरोधका कारण नगरपालिकाको विकास निर्माणका काम, सेवा प्रवाह तथा अन्य प्रशासनिक गतिविधिहरू समेत प्रभावित बनेका छन्।

स्थानीय तहमा देखिएको यो आन्तरिक विवादले सिम्रौनगढ नगरपालिकाको समग्र विकास प्रक्रिया नै प्रभावित हुने संकेत देखिएको छ। अब यस विषयमा जिल्ला प्रशासन, सम्बन्धित निकाय तथा राजनीतिक नेतृत्वले कस्तो समाधान निकाल्छन् भन्नेमा स्थानीयवासीको चासो बढेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button