मधेशसमाचार

परवानीपुर गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न, उत्कृष्ट करदाता तथा वडा कार्यालय सम्मानित

बारा, २८ पौष

परवानीपुर गाउँपालिकाको १७ औँ गाउँसभा सोमबार पालिकाको सभा हलमा औपचारिक रूपमा सम्पन्न भएको छ। गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, उपाध्यक्ष सुगान्धी देवी कनुइन तथा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए।

उद्घाटन सत्रमा जनप्रतिनिधि, कर्मचारी, वडा अध्यक्षहरू, गाउँसभा सदस्यहरू तथा विभिन्न सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। १७ औँ गाउँसभालाई स्थानीय सरकार सञ्चालन, नीति तथा कार्यक्रमको समीक्षा र आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

गाउँसभाको अवसरमा आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी कर तिर्ने ठूला करदातामध्ये पहिलो र दोस्रो स्थान हासिल गर्ने करदातालाई विशेष सम्मान गरिएको छ। करदाताले समयमै कर तिर्दै गाउँपालिकाको राजस्व वृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा धेरै राजस्व संकलन गर्न सफल वडा कार्यालयलाई समेत गाउँसभामार्फत सम्मान गरिएको छ। वडा स्तरबाट प्रभावकारी कर संकलन र प्रशासनिक सक्रियताले पालिकाको समग्र आर्थिक सुदृढीकरणमा सहयोग पुगेको भन्दै गाउँपालिका नेतृत्वले प्रशंसा गरेको छ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले स्थानीय सरकारको विकास र सेवा प्रवाहमा करदाताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पारदर्शी, उत्तरदायी र जनमुखी प्रशासन सञ्चालनमा गाउँपालिका प्रतिबद्ध रहेको बताए। उपाध्यक्ष सुगान्धी देवी कनुइनले विकास निर्माणका काममा सबैको सहकार्य आवश्यक रहेको धारणा राखिन्।

१७ औँ गाउँसभा विभिन्न एजेन्डामाथि छलफल गर्दै आगामी दिनमा गाउँपालिकाको नीति, योजना तथा बजेट कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने दिशामा केन्द्रित रहने जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button