बारा, २८ पौष
प्रसौनी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन तथा आर्थिक वर्ष २०८२/०८३ को संशोधित हिउँदे गाउँसभा सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ। गाउँपालिका सभाहलमा आयोजित उक्त गाउँसभामा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विनोद प्रसाद जयसवालले चालु आर्थिक वर्षमा विभिन्न शीर्षकअन्तर्गत भएको खर्च तथा हालसम्मको प्रगति विवरण सार्वजनिक गरे। सो क्रममा उनले नेपाल सरकारले स्थानीय तहलाई क्रमशः धारासायी बनाउँदै लगेको आरोप लगाउँदै बजेट व्यवस्थापनमा देखिएको समस्यातर्फ ध्यानाकर्षण गराए।
अध्यक्ष जयसवालका अनुसार नेपाल सरकारले प्रत्येक वर्ष असार महिनामै बजेट सिलिङ पठाउने गरेकोले सोही परिधिभित्र रहेर स्थानीय तहले बजेट विनियोजन गर्ने गर्दछ। तर चालु आर्थिक वर्षको अन्तिमतिर आइपुग्दा केन्द्र सरकारबाट बजेट कटौती हुने गरेकाले विकास निर्माण तथा सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न हुने गरेको उनले बताए।
अध्यक्ष जयसवालले संशोधित हिउँदे गाउँसभाबाट चालु आर्थिक वर्षको स्वीकृत बजेटभित्रका केही शीर्षकहरूमा मात्र आवश्यक परिवर्तन गरिने स्पष्ट पारे। यसले कार्यक्रम तथा योजनाहरूलाई अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको उनको भनाइ थियो।
उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवले आफूहरू कर्मचारी भएकाले जनप्रतिनिधिबाट पारित भएका नीति, नियम तथा निर्णयहरू कार्यान्वयन गर्नु नै आफ्नो प्रमुख दायित्व रहेको बताए। साथै सेवा प्रवाहका क्रममा कर्मचारीहरूबाट कुनै कमी कमजोरी भएमा समयमै अवगत गराइदिन सबै सरोकारवालालाई आग्रह गरे।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष किरण देवी साह, सबै वडा अध्यक्षहरू, सम्पूर्ण कार्यपालिका सदस्यहरू, गाउँपालिकाका लेखा अधिकृत प्रेमबाबु प्रसादसहित सम्पूर्ण कर्मचारीहरू, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको विशेष उपस्थिति रहेको थियो।
स्थानीय तहको नीति, बजेट र कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको यस गाउँसभाबाट प्रसौनी गाउँपालिकाको आगामी कार्यदिशा थप स्पष्ट हुने अपेक्षा गरिएको छ।