
रौतहट , २९ पौष
जिल्लाको परोहा नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
परोहा नगरपालिका वडा नं. ७ स्थित बसिर चोकमा चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बि आर ०५ बि बिएल ८८४६ नम्बरको भारतीय अपाचे मोटरसाइकललाई प्रहरीले रोकेको थियो। शंका लागेर खानतलासी गर्दा मोटरसाइकलमा सवार व्यक्तिहरूले लुकाई-छिपाई ल्याएको प्रतिबन्धित लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए।
पक्राउ पर्नेहरूमा एक नेपाली र एक भारतीय नागरिक :-शिखर बहादुर पुलामी मगर: बारा जिल्ला, निजगढ नगरपालिका वडा नं. ७ बस्ने ३० वर्षीय भक्त बहादुर पुलामी मगरका छोरा, नैतिक कुमार (गोलु): भारत बिहार राज्य, पूर्वी चम्पारण जिल्ला घोडासहन वडा नं. ६ बस्ने २९ वर्षीय रंजन कुमार यादवका छोरा रहेको छ। प्रहरीले अभियुक्तहरूको साथबाट निम्न सामानहरू
लागू औषध: TRAMOL-50 क्यापसुल जम्मा १,२६० पिस १२६ पत्ता, तथा भारतीय नम्बर प्लेट बि आर ०५ बिएल ८८४६ को अपाचे मोटरसाइकल १ थान, नेपाली ३६,००० रुपैयाँ (१००० का १३ थान र ५०० का ४६ थान नोट, विभिन्न कम्पनीका ३ थान मोबाइल सेट बरामद गरिएको हो।
प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका दुवै जनालाई लागू औषध सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरी हिरासतमा राखिएको छ। प्रहरी चौकी मोतिपुर नरकटिया र सशस्त्र प्रहरी बल बिओपी सरमुजवाको संयुक्त टोलीले उनीहरूमाथि थप गहन अनुसन्धान गरिरहेको छ।
खुल्ला सीमानाको फाइदा उठाउँदै हुने यस्ता अवैध गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाए।



