किशोर–किशोरी सचेतनाबाट सामाजिक रूपान्तरण तर्फ 

8

बारा, २८ पौष

किशोर–किशोरी कुनै पनि समाजको भविष्य हुन् । उनीहरू सचेत, शिक्षित र जिम्मेवार बने समाज समृद्धिको दिशातर्फ अघि बढ्छ । यही विश्वासका साथ बाराको देवताल गाउँपालिकामा किशोर–किशोरी लक्षित चारदिने सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

देवताल गाउँपालिका वडा नम्बर ६ को सहयोग तथा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र, कलैया (बारा) को आयोजनामा मिति २०८२ साल पौष २४ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय किशोर–किशोरीलाई सामाजिक, नैतिक र व्यवहारिक विषयमा सचेत गराएको छ ।

चार दिनसम्म चलेको कार्यक्रम छ चरणमा सञ्चालन गरिएको थियो । कार्यक्रम अवधिभर ३ सयभन्दा बढी किशोर–किशोरीको उल्लेख्य सहभागिता रह्यो । सहभागितामूलक छलफल, अन्तक्र्रिया र व्यवहारिक उदाहरण मार्फत उनीहरुलाई अनुशासन, सामाजिक जिम्मेवारी, कुलतबाट बच्ने उपाय, सकारात्मक सोच र आत्मविकासका विषयमा जानकारी गराइएको आयोजक व्यवसायिक तथा सिप विकास तालिम केन्द्र बाराका अध्यक्ष विजय कुमार साह साहले जानकारी दिए ।

आइतबार सम्पन्न समापन कार्यक्रम देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णन्दन रायको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत रायले किशोर–किशोरी लक्षित यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने बताए । “आजका किशोर–किशोरी सचेत भए मात्र भोलिको समाज सुरक्षित र समृद्ध हुन्छ,” उनले भने ।

समापन कार्यक्रम देवताल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष संजय कुमारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा देवताल गाउँपालिकाका लेखा अधिकृत मनिष प्रसाद कलवार, वडा सदस्य वृजकिशोर साह र रामबाबु महतो, वडा सचिव उमेश कुमार चौधरी, समाजसेवी नवलकिशोर यादवलगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी किशोर–किशोरीहरूले यस्तो कार्यक्रमले आफूहरूलाई सही बाटो रोज्न, गलत बानीबाट टाढा रहन र भविष्यप्रति जिम्मेवार बन्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् । आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने तयारी गरिएको छ ।

देवताल गाउँपालिकामा सञ्चालन भएको यो सचेतनामूलक कार्यक्रमले किशोर–किशोरी मात्र होइन, समग्र समुदायमा चेतनाको नयाँ सन्देश प्रवाह गरेको छ ।

Leave A Reply

Your email address will not be published.