मधेशसमाचार

पर्साको ग्रामीण भेगमा जंगली जनावरको आतंक बढ्दो

हरिकिशोर शर्मा

पर्सा , २९ पौष

पर्सा जिल्लाका ग्रामीण भेगहरू तथा पर्सा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रसँग जोडिएका बस्तीहरूमा जंगली जनावरको आतंक दिनप्रतिदिन बढ्दै गएको छ। विशेषगरी जंगली हात्ती, नीलगाई, जंगली सुँगुर लगायतका जनावरले रातको समयमा खेतबालीमा प्रवेश गरी गहुँ, सुर्ती, तोरीलगायतका बाली नष्ट गर्न थालेपछि स्थानीय किसानहरू गम्भीर चिन्तामा परेका छन्।

जंगली जनावरको गतिविधि बढ्दै जाँदा किसानहरूको दैनिकी मात्रै होइन, ज्यानको सुरक्षा समेत जोखिममा परेको स्थानीयवासीहरूको भनाइ छ। राति खेतबारी जोगाउन जाँदा जंगली जनावरसँग सामना हुने डरले किसानहरू त्रसित अवस्थामा बस्न बाध्य भएका छन्।

विशेषगरी पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–१ अन्तर्गत भाथा, रामभैरी, मलोली टाँडी, गदियानी टोल, कञ्चनपुर बैरिया, पर्सागढी नगरपालिका वडा नम्बर–१ का मानवा, कोईलाभार, पशुपतिनगर, वडा नम्बर–२ का छटवनी टाँडी, वडा नम्बर–३ का बढनिहार, झुलिटार, झाब्राहा, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–१, जिराभवानी गाउँपालिका वडा नम्बर–१ शान्तिटोल, वडा नम्बर–५ हरैया, सखुवनिया तथा ठोरी गाउँपालिका अन्तर्गत गडुवालाईन, रामनगरलगायतका क्षेत्रमा राति जंगली जनावरको आवतजावत अत्यधिक बढेको जनाइएको छ।

स्थानीय किसानहरूका अनुसार जंगली हात्तीको समूह राति खेतबारीमा प्रवेश गरी एकै रातमा ठूलो क्षेत्रफलको बाली सखाप पार्ने गरेको छ। यसले किसानको वर्षभरिको आम्दानीमा प्रत्यक्ष असर पारेको छ। “दिनरात मेहनत गरेर लगाएको बाली केही घण्टामै नष्ट हुन्छ, क्षतिपूर्ति पनि समयमा पाइँदैन,” एक किसानले गुनासो गरे।

जंगली जनावरको आतंकका कारण बालबालिका, महिला तथा वृद्धवृद्धाहरू समेत असुरक्षित महसुस गर्न थालेका छन्। कतिपय स्थानमा राति घरबाहिर ननिस्कने अवस्था सिर्जना भएको छ भने विद्यालय जाने बालबालिकासमेत डर त्रासमा बस्न बाध्य भएका छन्।

स्थानीयवासीहरूले पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय तथा स्थानीय तहसँग पटक–पटक समस्या समाधानको माग गरे पनि अपेक्षित पहल नदेखिएको गुनासो गरेका छन्। उनीहरूले जंगली जनावर नियन्त्रण, तारबार व्यवस्थापन, नियमित गस्ती तथा क्षतिपूर्तिको सहज व्यवस्था गर्न माग गरेका छन्।

यदि समयमै प्रभावकारी उपाय नअपनाइएमा किसानहरूको जीविकोपार्जन संकटमा पर्ने र मानव–वन्यजन्तु द्वन्द्व अझ चर्किने खतरा रहेको स्थानीयवासीहरूको चेतावनी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button