१८ वटै स्थानीय तहबीच ‘असल अभ्यास’ आदान-प्रदान कार्यक्रम सम्पन्न

12

रौतहट , २९ पौष

जिल्लाको समग्र विकास र सुशासनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ रौतहट जिल्लाका १८ वटै स्थानीय तहका प्रतिनिधिहरूको सहभागितामा ‘स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदान-प्रदान कार्यक्रम’ सोमवार संम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति गौर रौतहटको आयोजनामा जिससकै सभाहलमा सञ्चालन भएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम अनुसार आयोजित यस कार्यक्रममा स्थानीय सरकारहरूले आफ्नो कार्यकालमा अवलम्बन गरेका सफल योजना सेवा प्रवाहका नयाँ पद्धति र विकासका मोडलहरूका बारेमा छलफल गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले भन्ने एउटा पालिकाले गरेको राम्रो काम अर्को पालिकाका लागि मार्गदर्शक बन्न सक्छ । जिल्लाका १८ वटै स्थानीय तहबीच समन्वय र सहकार्य अभिवृद्धि गरी नागरिकलाई डेलिभरी दिने सवालमा यो कार्यक्रम कोशेढुङ्गा सावित हुनेछ ।

१८ वटै पालिकाका प्रतिनिधिहरूले आ-आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा हासिल गरेका सफलता र झेल्नुपरेका चुनौतीहरू प्रस्तुत गर्नुभएको थियो, योजना तर्जुमादेखि कार्यान्वयनसम्मका चरणमा कसरी पारदर्शिता अपनाउन सकिन्छ भन्ने विषयमा विशेष अन्तर्क्रिया भएको थियो,

जिल्ला समन्वय समितिले पालिकाहरूबीच आउन सक्ने विवाद समाधान र विकासका काममा कसरी नेतृत्वदायी भूमिका खेल्ने भन्नेबारे सुझावहरू संकलन गरिएको थियो ।

सोमबार विहान १०:०० बजेबाट सुरु भएको उक्त कार्यक्रममा सहभागी प्रतिनिधिहरूले यस्ता कार्यक्रमले अन्तर-पालिका सम्बन्ध मजबुत बनाउने र नयाँ जनप्रतिनिधि तथा कर्मचारीहरूलाई व्यावहारिक ज्ञान प्राप्त हुने धारणा राखे ।

आगामी दिनमा पनि जिल्ला समन्वय समितिले यस्ता प्रकृतिका रचनात्मक र समन्वयात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.