सिम्रौनगढ नगरपालिकाका कार्यालय अनिश्चितकालका लागि स्थगित, उपप्रमुखको अभद्र व्यवहारको विरोधमा कर्मचारी आन्दोलित

37

बारा, २८ पौष

सिम्रौनगढ नगरपालिकाकी नगर उपप्रमुख नजमु शेहरले निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेरामाथि कार्यालय परिसरमै अभद्र व्यवहार गरेको घटनापछि सिम्रौनगढ नगरपालिका कार्यालय तथा मातहतका कार्यालयहरू अनिश्चितकालका लागि स्थगित गरिएका छन्।

सिम्रौनगढ नगरपालिकाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मिति २०८२ साल ०९ महिनाको २८ गते नगर उपप्रमुख शेहरले प्रमुख प्रशासकीय अधिकृत लहेरामाथि जोर–जबरदस्ती, गालीगलौज तथा दुर्व्यवहार गरेको आरोप लगाइएको छ। उक्त घटनाले सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको गरिमा, मर्यादा र सुरक्षामाथि प्रत्यक्ष आघात पुगेको भन्दै नगरपालिकाका सम्पूर्ण कर्मचारी परिवारले गम्भीर आपत्ति जनाएको छ।

विज्ञप्तिमा अमर्यादित, गैरकानुनी र निन्दनीय कार्यको घोर भर्त्सना गर्दै कार्यालय प्रमुख तथा एक कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति गहिरो दुःख प्रकट गरिएको छ। कर्मचारीहरूको सुरक्षा, सम्मान र सुरक्षित कार्य वातावरण सुनिश्चित नहुन्जेलसम्म सिम्रौनगढ नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरू (शिक्षण संस्थाहरू बाहेक) मा अत्यावश्यक सेवा बाहेकका सबै सेवा अर्को आदेश नआउन्जेलसम्म अनिश्चितकालका लागि स्थगित गरिएको जनाइएको छ।

यस घटनाको पृष्ठभूमिमा आर्थिक वर्ष २०८२/०८३ को नगरसभा रहेको छ। उक्त नगरसभामा उपप्रमुख नजमु शेहरले आफैँ बजेट प्रस्तुत गरेकी थिइन्। तर नगरप्रमुख किशोरी प्रसाद कलवारले कर्मचारीहरूलाई हेटौडामा लगेर आफूखुसी बजेट विनियोजन गरेको आरोप लगाउँदै उपप्रमुख शेहरले उच्च अदालत वीरगंजमा मुद्दा दर्ता गराएकी थिइन्।

उक्त मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालत वीरगंजले आंशिक रिट जारी गर्दै नगरसभामा भएको त्रुटि सच्याउन पुनः नगरसभा गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार विशेष नगरसभा आह्वान गर्ने विषयमा सोमबार नगर कार्यपालिकाको बैठक राखिएको थियो।

तर कार्यपालिका बैठक स्थगित गर्नुपर्ने माग राख्दै उपप्रमुख शेहरले निमित्त प्रमुख प्रशासकीय अधिकृत लहेरालाई बन्द कोठाभित्र अभद्र व्यवहार गरेको जानकारी प्राप्त भएको छ। सो घटनापछि नगरपालिकाका सम्पूर्ण कर्मचारीहरू आन्दोलित भई जिल्ला प्रशासन कार्यालय बारामा सामूहिक उजुरी समेत दिएका छन्।

कर्मचारीहरूको आन्दोलन र आन्तरिक विवादका कारण सिम्रौनगढ नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को सम्पूर्ण बजेट हालसम्म खर्च हुन नसकेको जनाइएको छ। बजेट कार्यान्वयनमा आएको अवरोधका कारण विकास निर्माणका काम, सेवा प्रवाह तथा अन्य प्रशासनिक गतिविधिहरू समेत पूर्ण रूपमा प्रभावित भएका छन्।

नगरपालिकाले जारी गरेको विज्ञप्तिमा सम्बन्धित निकायबाट शीघ्र निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा सुरक्षित कार्य वातावरण सुनिश्चित हुने विश्वास व्यक्त गरिएको छ। साथै सेवा स्थगनका कारण नगरवासी तथा सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरिएको छ।

स्थानीय तहभित्र देखिएको यो गम्भीर विवादले सिम्रौनगढ नगरपालिकाको समग्र प्रशासनिक र विकास प्रक्रियामा थप अन्योलता सिर्जना गरेको छ। अब यस विषयमा जिल्ला प्रशासन, अदालत तथा राजनीतिक नेतृत्वले कस्तो समाधान निकाल्छन् भन्नेमा स्थानीयवासीको चासो बढ्दै गएको छ।

Leave A Reply

Your email address will not be published.