मधेशसमाचार

उपप्रमुख–प्रशासनिक अधिकृतबीच विवादपछि सिम्रौनगढमा विद्यालय बन्द, नगरपालिकाको कामकाज ठप्प

बारा , २९ पौष

सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेरा माथि उपप्रमुख नजबु शेहरले सोमबार गालीगलौज सहित दुर्व्यवहार गरेको आरोपपछि नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको छ। घटनाप्रति आक्रोश जनाउँदै नगरपालिकाका सबै कर्मचारीहरूले सोमबार नै विज्ञप्ति जारी गरी नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प पारेका हुन्।

कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा कार्यालयभित्रको मर्यादा, सुरक्षा र संस्थागत अनुशासनमाथि गम्भीर प्रश्न उठेको उल्लेख गर्दै दोषीमाथि निष्पक्ष छानबिन तथा आवश्यक कारबाही नभएसम्म काममा नफर्किने स्पष्ट गरिएको छ। यसका कारण नगरपालिकाबाट प्रवाह हुने सेवा, योजना कार्यान्वयन तथा प्रशासनिक गतिविधि पूर्ण रूपमा प्रभावित बनेका छन्।

यसैबीच, नगरपालिकाका कर्मचारीहरूको आन्दोलनलाई समर्थन जनाउँदै नेपाल शिक्षक संघ सिम्रौनगढ नगर कार्यसमितिले नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बुधबार एक दिन बन्द गर्ने निर्णय गरेको छ।

नगर शिक्षक संघ सिम्रौनगढका कार्यबाहक अध्यक्ष विजय कुमार पाण्डे र सचिव लालबाबु प्रसाद यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा कर्मचारीहरूमाथि भएको दुर्व्यवहारको कडा निन्दा गर्दै दोषीमाथि छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

विज्ञप्तिमा माग पूरा नभए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत दिइएको छ। शिक्षक संघले संस्थागत मर्यादा, सम्मान र सुरक्षित कार्य वातावरणको पक्षमा आफूहरू दृढ रहेको जनाएको छ।

घटनाबारे नगरपालिकाको राजनीतिक तथा प्रशासनिक नेतृत्वबाट औपचारिक धारणा आउन बाँकी रहेको छ। स्थानीय सरोकारवालाहरूले समस्या चाँडो समाधानका लागि संवाद, छानबिन र निष्पक्ष निर्णय आवश्यक रहेको बताएका छन्। विवाद लम्बिँदै गए नगरपालिका सेवा र शैक्षिक गतिविधिमा थप असर पर्ने देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button