सिम्रौनगढ नगरपालिकामा कर्मचारी आन्दोलन चर्कियो, ३१ सदस्यीय संघर्ष समिति गठन
कलैया, ३० पौष
बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा कर्मचारी आन्दोलन थप सशक्त बन्दै गएको छ। प्रहरीमा मुद्दा दर्ता गराउन दबाब दिने उद्देश्यले सिम्रौनगढ नगरपालिका अन्तर्गतका कर्मचारीहरूले बुधबार ३१ सदस्यीय संघर्ष समिति गठन गरेका छन्।
संघर्ष समितिको संयोजकमा नगरपालिकाको जिन्सी शाखा प्रमुख सुरेश यादव चयन भएका छन्। समितिले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेरा माथि नगर उपप्रमुख नजबु (नजमु) शेहर ले गालीगलौज तथा दुर्व्यवहार गरेको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।
संयोजक यादवका अनुसार उक्त घटनालाई गम्भीर रूपमा लिँदै प्रहरीमार्फत छानबिन प्रक्रिया अघि बढाउन दबाब दिन संघर्ष समिति गठन गरिएको हो। यदि प्रहरीले घटनाको छानबिन गरी कारबाही अगाडि नबढाए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि उनले दिएका छन्।
संघर्ष समितिले आगामी माघ २ गते शुक्रबार नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूलाई प्लेकार्डसहित नगरभित्र र्याली तथा प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ।
यस आन्दोलनका कारण सिम्रौनगढ नगरपालिकाको कामकाज विगत दुई दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ। सोमबार नगर उपप्रमुख शेहरले कार्यालय परिसरमै प्रमुख प्रशासकीय अधिकृत साहमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै कर्मचारीहरूले आफ्ना सुरक्षा सुनिश्चित नभएसम्मका लागि अनिश्चितकालीन रूपमा सेवा प्रवाह स्थगित गरेका हुन्।
घटनापछि आक्रोशित कर्मचारीहरूले आन्दोलन सुरु गर्दै निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। आन्दोलनरत कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा कर्मचारीहरूको सुरक्षा, सम्मान तथा सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म अति आवश्यक सेवा र शिक्षण सँस्था बाहेक नगरपालिका अन्तर्गतका सबै कार्यालय लगायत सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द रहने उल्लेख गरिएको छ।
नगरपालिकामा बढ्दो तनावका कारण स्थानीय सेवाग्राहीहरू समेत प्रभावित बनेका छन् भने समस्या समाधानका लागि सरोकारवाला निकायको शीघ्र पहल आवश्यक देखिएको छ।