बारा, ०२ माघ
सिम्रौनगढ नगरपालिकाका उपप्रमुख नजमु शेहरले प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर लहेरामाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै नगरपालिका कर्मचारीहरू आन्दोलित भएका छन्। घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै कर्मचारीहरूले विगत चार दिनदेखि नगरपालिकाको कामकाज पूर्ण रूपमा ठप्प पारेका छन्।
सिम्रौनगढ नगरपालिका कर्मचारी संघर्ष समितिका अनुसार मिति २०८२ साल पुस २८ गते उपप्रमुख शेहरले प्रमुख प्रशासकीय अधिकृत लहेरालाई कार्यकक्षमा बोलाई दुर्व्यवहार गरेको आरोप छ। उक्त घटनापछि प्रमुख प्रशासकीय अधिकृतले पुस २९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए भने नगर प्रमुखले समेत आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका थिए। तर हालसम्म जाहेरी दर्ता, छलफल वा कुनै ठोस कारबाही नहुँदा कर्मचारीहरू मर्माहित भएको संघर्ष समितिले जनाएको छ।
कर्मचारी संघर्ष समितिका संयोजक सुरेश प्रसाद यादवद्वारा जारी प्रेस विज्ञप्तिमा गरिमामय पदमा रहेका जनप्रतिनिधिबाट भएको कथित दुर्व्यवहारको घोर भर्त्सना गर्दै कर्मचारीहरूको पेशागत सुरक्षा र सम्मान सुनिश्चित हुनुपर्ने माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “कर्मचारीमाथि गरिएको दुर्व्यवहारले कार्य वातावरण बिग्रिएको छ, मनोबल खस्किएको छ र सम्बन्धित निकायबाट चासो नदेखिँदा निराशा बढ्दै गएको छ।”
संघर्ष समितिले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने तथा कर्मचारीहरूको पेशागत सुरक्षा सुनिश्चित गर्नुपर्ने मुख्य माग अघि सारेको छ। माग पूरा नभएसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम जारी रहने जनाइएको छ।
घोषित कार्यक्रमअनुसार माघ ४ गतेदेखि सिम्रौनगढ नगरपालिका कार्यालयको मुख्य गेट अगाडि धर्ना तथा र्याली आयोजना गरिएको छ। माग पूरा नभए जिल्लास्तरीय र्याली तथा अन्य थप आन्दोलनका कार्यक्रम समेत सञ्चालन गरिने संघर्ष समितिले चेतावनी दिएको छ।
यसैबीच, कर्मचारी संघर्ष समिति सिम्रौनगढको आयोजनामा शुक्रबार नगरभित्र विरोध तथा दबाब प्रदर्शन समेत गरिएको छ। आन्दोलनका कारण सिम्रौनगढ नगरपालिकाअन्तर्गत अत्यावश्यक सेवा र शिक्षण संस्था बाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।
नगरपालिकामा उत्पन्न तनावका कारण सेवाग्राहीहरू प्रभावित बनेका छन्। स्थानीयवासीहरूले समस्या समाधानका लागि सरोकारवाला निकायले शीघ्र पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।