पुस महिनामा पर्सा प्रहरीद्वारा १०७ मुद्दा दर्ता, ७९ जना पक्राउ

12

पर्सा , ०३ माघ

जिल्ला प्रहरी कार्यालय पर्साले पुस महिनामा विभिन्न प्रकृतिका १०७ वटा आपराधिक मुद्दा दर्ता गरी ७९ जनालाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार जबर्जस्ती तथा गम्भीर प्रकृतिका अपराधका मुद्दा बढी रहेका छन्।

प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये २६ वटा जबर्जस्ती तथा गम्भीर अपराध, ६ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी अपराध, तथा २९ वटा आर्थिक अपराध रहेका छन्।

पुस महिनामा लागूऔषध विरुद्ध सञ्चालन गरिएको कारबाहीमा प्रहरीले उल्लेख्य मात्रामा प्रतिबन्धित पदार्थ बरामद गरेको छ। यस अवधिमा गाँजा ३४५ केजी १२ ग्राम,

चरेस २५५ केजी ४ ग्राम, खैरो हेरोइन २४५ ग्राम, नाइट्राभेट १२ हजार ६६ पिस ट्याब्लेट बरामद गर्दै ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिवेदनअनुसार पुस महिनामा जिल्लामा ४ वटा आत्महत्यासम्बन्धी घटना दर्ता भएका छन्। ती घटनामा १ महिला र ३ पुरुष संलग्न रहेका छन्। झुण्डिएर तथा विष सेवनका घटनाहरू दर्ता भएको प्रहरीले जनाएको छ।

घरेलु तथा सामाजिक हिंसाका उजुरी बढ्दो

पर्सा जिल्लामा घरेलु हिंसासम्बन्धी उजुरीको संख्या पनि उल्लेख्य देखिएको छ। पुस महिनामा घरेलु हिंसासम्बन्धी ५७ उजुरी, सामाजिक हिंसा (ज्येष्ठ नागरिक, कुटपिट लगायत) सम्बन्धी ५९ उजुरी दर्ता भएका छन्।

 

जिल्लामा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रहरीले पुस महिनामा १ हजार ६८० पिकेट, ६ सय चेकिङ, १ हजार ५४४ ग्रामीण गस्ती, ४ एलआरपी र १ हजार ५४४ एसआरपी परिचालन गरेको जनाएको छ। सो अवधिमा एक धार्मिक कार्यक्रम र एक विरोध कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गराइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले आगामी दिनमा अपराध नियन्त्रण, लागूऔषध न्यूनीकरण तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकको संरक्षणलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.