बारा, पर्सा र रौतहटसहित देशभर निर्वाचन अधिकृतको कार्यालय स्थापना

12

बारा , ०३ माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा, पर्सा र रौतहटसहित देशभर निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ। निर्वाचन प्रक्रिया व्यवस्थित, निष्पक्ष र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले निर्वाचन आयोगले सम्बन्धित निर्वाचन क्षेत्रमा कार्यालय सञ्चालनमा ल्याएको हो।

बारा

बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन क्षेत्र नम्बर ३ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय कलैयास्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ। कार्यालयको उद्घाटन जिल्ला अदालत बाराका जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीले गर्नुभएको हो। निर्वाचन आयोगले अधिकारीलाई बारा जिल्लाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय कोल्हवी नगरपालिकाको भवनमा, क्षेत्र नम्बर २ को कार्यालय महागढीमाई नगरपालिकाको भवनमा तथा क्षेत्र नम्बर ४ को कार्यालय राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम कार्यालय, जीतपुरमा स्थापना गरिएको छ।

जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया ती कार्यालयहरूमार्फत सञ्चालन गरिनेछ। चार निर्वाचन क्षेत्र रहेको बारा जिल्लामा कुल ४ लाख ६५ हजार ७८४ मतदाता रहेका छन्।

पर्सा

पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

निर्वाचन क्षेत्र नम्बर १ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय कार्यालय पर्सामा स्थापना गरिएको छ। सोही परिसरमा क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय सञ्चालनमा ल्याइएको छ। यस्तै, क्षेत्र नम्बर ३ को कार्यालय पोखरीयास्थित विद्युत् कार्यालय परिसरमा र क्षेत्र नम्बर ४ को कार्यालय धोबिनी गाउँपालिका–लङडीस्थित पुस्तकालयमा स्थापना गरिएको निर्वाचन अधिकृत नूतन झाले जानकारी दिइन्।

उनका अनुसार मतदान केन्द्र निर्धारण, मतदाता नामावली व्यवस्थापन, निर्वाचन सामग्रीको व्यवस्थापन, कर्मचारी परिचालन तथा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रशासनिक र कानुनी प्रक्रिया अब यही निर्वाचन कार्यालयमार्फत सञ्चालन हुनेछ।

 

रौतहट

रौतहट जिल्लामा जिल्ला सदरमुकाम गौरसहित राजपुर, कटहरिया र चन्द्रनिगाहपुरमा छुट्टाछुट्टै कार्यक्रमबीच निर्वाचन अधिकृतका कार्यालय सञ्चालनमा ल्याइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरस्थित कर कार्यालयको भवनमा स्थापना गरिएको छ, जसको उद्घाटन जिल्ला न्यायाधीश मनोज केसीले गर्नुभएको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृत मनोज केसी, क्षेत्र नम्बर २ मा सीताराम खड्का, क्षेत्र नम्बर ३ मा अवधकिशोर प्रसाद कुशवाहा र क्षेत्र नम्बर ४ मा उद्धव ढोडारीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।

कार्यालय स्थापना हुनुअघि जिल्ला सुरक्षा समितिको टोलीले सबै निर्वाचन क्षेत्रका कार्यालयहरूको स्थलगत निरीक्षण गरी सुरक्षा अवस्थाको जानकारी लिएको थियो। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न प्रशासन पूर्ण रूपमा तयार रहेको बताएका छन्।

निष्पक्ष निर्वाचनमा जोड

निर्वाचन अधिकृतका कार्यालयहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया अघि बढाइने जनाएका छन्। आयोगको कार्यतालिकाअनुसार माघ ६ गते देशभर उम्मेदवारको मनोनयन दर्ता हुने छ।

निर्वाचन अधिकृत झाका अनुसार स्थानीय तहमा निर्वाचन व्यवस्थापन सुदृढ भएसँगै मतदाता सहभागिता अभिवृद्धि हुने र निर्वाचन प्रक्रिया थप विश्वसनीय तथा मर्यादित हुने अपेक्षा गरिएको छ।

निर्वाचन अधिकृतका कार्यालय स्थापना भएसँगै बारा, पर्सा र रौतहटसहित देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनको औपचारिक तयारीले गति लिएको छ।

Leave A Reply

Your email address will not be published.