धर्ना कार्यक्रममा उत्रिए सिम्रौनगढका नगरपालिका कर्मचारी, कार्यालय अनिश्चितकालका लागि ठप्प

48

धर्ना कार्यक्रममा उत्रिए सिम्रौनगढका नगरपालिका कर्मचारी, कार्यालय अनिश्चितकालका लागि ठप्प

बारा , ०४ माघ

सिम्रौनगढ नगरपालिकाका उपप्रमुख नजमु शेहरले प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर लहेरामाथि दुर्व्यवहार गरेको आरोपपछि नगरपालिका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै कर्मचारीहरूले नगरपालिकाको कामकाज अनिश्चितकालका लागि ठप्प पारेका छन्।

कर्मचारी संघर्ष समितिका अनुसार २०८२ साल पुस २८ गते उपप्रमुख शेहरले प्रमुख प्रशासकीय अधिकृत लहेरालाई कार्यकक्षमा बोलाई दुर्व्यवहार गरेको आरोप छ। सो घटनापछि प्रमुख प्रशासकीय अधिकृतले पुस २९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए भने नगर प्रमुखले पनि जिल्ला प्रशासन कार्यालयमा आवश्यक कारबाहीका लागि पत्राचार गरेका थिए। तर हालसम्म जाहेरी दर्ता तथा कुनै ठोस निर्णय नआउँदा कर्मचारीहरू आक्रोशित भएका हुन्।

संघर्ष समितिका संयोजक सुरेश प्रसाद यादवद्वारा जारी विज्ञप्तिमा जनप्रतिनिधिबाट भएको कथित दुर्व्यवहारको घोर भर्त्सना गर्दै कर्मचारीहरूको पेशागत सुरक्षा, सम्मान र कार्य वातावरण सुनिश्चित हुनुपर्ने माग गरिएको छ। सम्बन्धित निकायको उदासीनताका कारण कर्मचारीहरूको मनोबल खस्किएको समितिको भनाइ छ।

घोषित आन्दोलन कार्यक्रमअनुसार माघ ४ गतेदेखि सिम्रौनगढ नगरपालिका कार्यालयको मुख्य गेट अगाडि धर्ना कार्यक्रम सुरु गरिएको छ। माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन, र्‍याली तथा जिल्लास्तरीय प्रदर्शन समेत गर्ने संघर्ष समितिले चेतावनी दिएको छ।

यसैबीच शुक्रबार नगरभित्र विरोध तथा दबाब प्रदर्शन गरिएको छ। आन्दोलनका कारण अत्यावश्यक सेवा र शिक्षण संस्था बाहेकका सिम्रौनगढ नगरपालिकाअन्तर्गतका सम्पूर्ण सेवा बन्द भएका छन्।

नगरपालिकामा उत्पन्न तनावका कारण सेवाग्राहीहरू प्रभावित भएका छन्। स्थानीयवासीहरूले समस्या समाधानका लागि सरोकारवाला निकायले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्

Leave A Reply

Your email address will not be published.