मधेशसमाचार

बारा–२ मा ठूला आश्वासन बाँडेका उज्यालो नेपाल पार्टीका नेता अचानक रास्वपाबाट बारा–३ मा उम्मेदवार

बारा, ०६ माघ

बारा क्षेत्र नम्बर २ मा ‘एक घर एक रोजगारी’ जस्ता ठूला आश्वासन बाँड्दै चुनावी प्रचारमा सक्रिय देखिएका उज्यालो नेपाल पार्टीका केन्द्रीय समिति सदस्यले अचानक पार्टी र निर्वाचन क्षेत्र दुवै परिवर्तन गर्दै आज उम्मेदवारी दर्ताको दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बारा क्षेत्र नम्बर ३ मा उम्मेदवारीको टिकट पाएका छन्।
केही दिनअघि मात्रै काठमाडौंबाट बारा आउने क्रममा सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ती नेताले आफू उज्यालो नेपाल पार्टीबाट बारा–२ मा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका थिए। सिमरा विमानस्थलमै उनले उज्यालो नेपाल पार्टीको नीति, कार्यक्रम र कुलमान घिसिङको खुलेर प्रशंसा गर्दै बारा–२ का जनतालाई लक्षित गरी ‘एक घर एक रोजगारी’, सिमकार्ड वितरणलगायतका आकर्षक तर विवादास्पद आश्वासन दिएका थिए।
तर उक्त घोषणा गरेको महिना दिन नबित्दै उनले अचानक निर्णय परिवर्तन गर्दै उज्यालो नेपाल पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ताको अन्तिम दिनमै यस्तो अप्रत्याशित परिवर्तन भएपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ।
स्थानीय बासिन्दा तथा राजनीतिक विश्लेषकहरूले यस घटनालाई अवसरवाद र अस्थिर राजनीतिक चरित्रको उदाहरणका रूपमा टिप्पणी गरेका छन्। बारा–२ का कतिपय मतदाताले आफूहरूलाई ठूला–ठूला गफ देखाएर भ्रममा पारिएको आरोप लगाएका छन्। “हिजो हामीसँग रोजगारीको सपना बाँड्ने नेता आज रातारात पार्टी र क्षेत्र नै फेरेर अर्कै ठाउँबाट उम्मेदवार बन्नु जनताप्रतिको जिम्मेवारीको अपमान हो,” एक स्थानीय मतदाताले प्रतिक्रिया दिए।
यसरी ठूला आश्वासन र चर्का भाषणमार्फत चर्चा कमाएका ती नेता पार्टीसहित निर्वाचन क्षेत्र नै परिवर्तन गर्दै नयाँ टिकट सुरक्षित गर्न सफल भए पनि यसले उनको राजनीतिक विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। अब बारा–३ का मतदाताले यसलाई कसरी लिन्छन् भन्ने विषय चासोको केन्द्र बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button