बारा , ०६ माघ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा एमालेकी उम्मेदवार एवम् पूर्व मन्त्री ज्वाला कुमारी साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज औपचारिक रूपमा मनोनयन दर्ता गराएकी छिन्।
साह २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि बारा–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उक्त निर्वाचनमा उनले जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामबाबु कुमार यादवलाई पराजित गर्दै विजय हासिल गरेकी थिइन्। साहले कुल २० हजार २५१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी यादवले १७ हजार २७९ मत ल्याएका थिए।
बाराबाट निर्वाचित भएपछि ज्वाला कुमारी साह छोटो समयका लागि नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्। मन्त्री पदमा रहँदा उनले कृषक हित, पशुपालन प्रवर्द्धन तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणका विषयलाई प्राथमिकतामा राखेर काम गरेको बताइन्छ।
यसैबीच, भदौ २३ र २४ गते भएको तथाकथित ‘जेनजी आन्दोलन’ का क्रममा साहको निजी घरमा आगजनी गरिएको घटनाले समेत राष्ट्रियस्तरमा चर्चा पाएको थियो। उक्त घटनापछि उनले लोकतान्त्रिक प्रक्रियामार्फत जनताको मतबाट पुनः जनप्रतिनिधि बनेर क्षेत्रको सेवा गर्ने अडान व्यक्त गर्दै आएकी छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि साहले बारा निर्वाचन क्षेत्र नम्बर–३ बाटै नेकपा एमालेको टिकटमा पुनः उम्मेदवारी दर्ता गराएकी हुन्। एमाले पार्टीका स्थानीय नेताहरूका अनुसार साहको अनुभव, संसदीय भूमिका र मन्त्रीको रूपमा प्राप्त गरेको कार्यअनुभवले निर्वाचनमा पार्टीलाई थप बल पुग्ने विश्वास गरिएको छ।
बारा–३ निर्वाचन क्षेत्र राजनीतिक रूपमा संवेदनशील र प्रतिस्पर्धात्मक क्षेत्र मानिन्छ। विगतका निर्वाचन परिणामहरू हेर्दा यहाँ एमाले, कांग्रेस र जसपासहित विभिन्न दलबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ। यसपटक पनि साह र उनका प्रमुख प्रतिस्पर्धीबीच रोचक चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै ज्वाला कुमारी साहले आफूले विगतमा सुरु गरेका विकासका कामलाई निरन्तरता दिने, कृषि, शिक्षा, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले जनताको विश्वास र समर्थनका आधारमा पुनः विजयी भएर बारा–३ को समग्र विकासका लागि काम गर्ने बताइन्।