मधेशसमाचार

देवताल गाउँपालिकाका पूर्व अध्यक्ष सिंहद्वारा बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता

देवताल गाउँपालिकाका पूर्व अध्यक्ष सिंहद्वारा बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता

बारा , ०६ माघ

देवताल गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष तथा स्वच्छ छविका नेताका रूपमा परिचित चन्दन कुमार सिंहले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मंगलबार बारा निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन्।

सिंह २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट देवताल गाउँपालिकाको गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका थिए। अध्यक्षको कार्यकालमा विकास निर्माण, सेवा प्रवाह र सुशासनमा ध्यान दिएको भन्दै उनी स्थानीयस्तरमा लोकप्रिय मानिन्छन्।

त्यसपछि २०७९ सालमा सम्पन्न दोस्रो स्थानीय तह निर्वाचनमा सिंह जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उदय प्रसाद यादवसँग पराजित हुँदै दोस्रो स्थानमा सीमित भएका थिए। यद्यपि, सो निर्वाचनपछि पनि उनी निरन्तर जनसम्पर्क र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका थिए।

देवताल गाउँपालिकामा आफूले गरेको विकास, पारदर्शी कार्यशैली र स्वच्छ छविका कारण जनताले पुनः राष्ट्रिय राजनीतिमा नेतृत्व देख्न चाहेको सिंहको भनाइ छ। यही जनचाहनालाई आत्मसात् गर्दै यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा–२ बाट उम्मेदवारी दिएको उनले बताएका छन्।

हालै लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकीकरण भई जनता समाजवादी पार्टी नेपाल कायम भए पनि स्थानीय राजनीतिक समीकरण र जनभावनाअनुसार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट लिएर उम्मेदवारी दर्ता गराएको जनाइएको छ।

उनको उम्मेदवारीसँगै बारा–२ मा चुनावी सरगर्मी थप बढेको छ भने स्थानीयस्तरमा विभिन्न राजनीतिक दल तथा समर्थकहरूबीच चर्चा परिचर्चा सुरु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button