राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नन्दु श्रीवास्तवको क्षेत्रीय भेला तथा निर्वाचन प्रचार समिति गठन सम्पन्न

31

बिष्णु राम

पर्सा , १० माघ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार आदरणीय श्री नन्दु श्रीवास्तव ज्यूको उपस्थितिमा क्षेत्रीय भेला तथा प्रदेशसभा निर्वाचन क्षेत्र १ र २ को निर्वाचन प्रचार समिति गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउने, जनतासम्म पार्टीको नीति, सिद्धान्त र एजेन्डा पुर्‍याउने उद्देश्यले प्रचार समितिहरू गठन गरिएको हो। भेलामा स्थानीय नेता–कार्यकर्ता, पार्टीका शुभेच्छुक तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भेलाबाट पर्सा निर्वाचन क्षेत्र नं. १ (१) का लागि अनिल कुमार कुशवाहालाई संयोजकको जिम्मेवारी दिँदै ११ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरिएको छ। यसैगरी पर्सा निर्वाचन क्षेत्र नं. १ (२) का लागि विनय झालाई संयोजकको जिम्मेवारीसहित ११ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार नन्दु श्रीवास्तव ज्यूले पार्टीको नीति, राष्ट्रवाद, सुशासन, धार्मिक–सांस्कृतिक संरक्षण तथा जनताको अधिकारका विषयमा जोड दिनुभयो। उहाँले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्दै घरदैलो, जनसम्पर्क र प्रत्यक्ष संवादमार्फत पार्टीको सन्देश प्रत्येक घरसम्म पुर्‍याउन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “अबको निर्वाचन केवल जित–हारको मात्र होइन, राष्ट्र, धर्म, संस्कृति र जनताको अधिकारको संरक्षणको लडाइँ हो। संगठन बलियो भयो भने विजय सुनिश्चित हुन्छ।”

भेलामा सहभागी वक्ताहरूले पार्टीलाई स्थानीय तहदेखि केन्द्रसम्म मजबुत बनाउने, जनताका समस्या उठाउने र परिवर्तनको विकल्पका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमले आगामी निर्वाचनका लागि पार्टीको प्रचार अभियानलाई थप गति दिने विश्वास लिइएको छ।

Leave A Reply

Your email address will not be published.