मधेशसमाचार

जनमत पार्टी निर्वाचन क्षेत्र नं. १ मा प्रचार–प्रसारका लागि ११ सदस्यीय कोर कमिटी गठन

बारा , ११ माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले निर्वाचन क्षेत्र नं. १ मा प्रचार–प्रसारलाई प्रभावकारी बनाउने उद्देश्यसहित कोर कमिटी गठन गरेको छ।

क्षेत्रीय अध्यक्ष रामबिनोद यादवको अध्यक्षतामा ११ सदस्यीय कोर कमिटी गठन गरिएको हो। सिम्रौनगढस्थित कँकाली मन्दिर परिसरमा बसेको क्षेत्रीय बैठकले उक्त कमिटी गठन गर्दै निर्वाचन अभियानलाई व्यवस्थित र सशक्त बनाउने निर्णय गरेको जनाइएको छ।

बैठकले जनमत पार्टीका उम्मेदवार डा. कमरुल्लाह अँसारीलाई फागुन २१ को निर्वाचनमा विजयी गराउने मुख्य उद्देश्यका साथ कोर कमिटी गठन गरिएको स्पष्ट पारेको छ। कोर कमिटीले घरदैलो, आमसभा, मतदाता भेटघाट, सामाजिक सञ्जाल तथा स्थानीय स्तरका प्रचार गतिविधिहरूलाई योजनाबद्ध रूपमा अघि बढाउने जिम्मेवारी पाएको छ।

बैठकमा बोल्दै क्षेत्रीय अध्यक्ष यादवले निर्वाचनलाई लक्षित गर्दै अब पार्टी संगठनलाई गाउँ–टोलसम्म सक्रिय बनाइने बताए। उनले जनमत पार्टीको नीति, कार्यक्रम र उम्मेदवारको एजेन्डालाई जनतासामु प्रभावकारी रूपमा पुर्‍याउन सबै कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरे।

त्यस अवसरमा सहभागी वक्ताहरूले डा. कमरुल्लाह अँसारीको स्वच्छ छवि, पेशागत इमानदारी र जनसेवाप्रतिको प्रतिबद्धताका कारण निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीप्रति जनआकर्षण बढ्दै गएको दाबी गरे।

जनमत पार्टीले आगामी दिनमा कोर कमिटीको नेतृत्वमा प्रचार–प्रसारका कार्यक्रमलाई थप तीव्र बनाउने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button