ई. साहको राजनीतिक रुपान्तरण : स्थानअनुसार पहिरन, दलअनुसार बोली ,जनतालाई रिझाउने रणनीति कि अवसरवाद?

26

बारा , ११ माघ

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको नाम र छायाँ प्रयोग गर्दै “स्वतन्त्र र वैकल्पिक राजनीति”को भाष्य बेच्ने होडमा रहेका केही पात्रमध्ये ईन्जिनियर अरबिन्द साह पनि अग्रपङ्क्तिमा देखिएका छन्। तर उनको पछिल्लो गतिविधिले वैकल्पिक राजनीतिको दाबीभन्दा पनि अवसरवाद र अस्थिरताको चित्र बढी प्रष्ट पारेको छ।

उज्यालो नेपाल पार्टीबाट बारा–२ मा उम्मेदवारी घोषणा गर्दै स्थानीय जन्मथलो, विकासको सपना र विधिको शासनको कुरा गरेका साहले उम्मेदवारी दर्ताको अन्तिम घडीमा आएर न क्षेत्र मात्र छाडे, दलसमेत परित्याग गरे। रातारात राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट लिएर अर्को निर्वाचन क्षेत्रमा देखा पर्नु सामान्य राजनीतिक निर्णय होइन, यो मतदातामाथि गरिएको खुला छल भएको स्थानीय राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

स्थानअनुसार पहिरन, अवसरअनुसार पहिचान

साहको प्रचारशैली पनि आलोचनाको केन्द्र बनेको छ। ग्रामीण क्षेत्रमा दौरा–सुरुवाल, टोपी र स्थानीय भाषा; शहरी कार्यक्रममा कोट–पाइन्ट र “टेक्नोक्र्याट” भाषण—स्थानअनुसार पहिरन र अवसरअनुसार पहिचान बदल्दै जनतालाई प्रभावित पार्ने प्रयास देखिन्छ। आलोचकहरू भन्छन्, “यो संस्कृतिको सम्मान होइन, भोटका लागि बनावटी अभिनय हो।”

उज्यालो नेपाल पार्टीमा रहँदा कुलमान घिसिङको नाम, ऊर्जा क्रान्ति र प्रणालीगत सुधारको कुरा; रास्वपामा पुग्नेबित्तिकै ‘नयाँ राजनीति’ र ‘पुराना दलको अन्त्य’—साहको भाषण दलअनुसार फेरिनु आफैंमा प्रश्नको विषय बनेको छ। राजनीतिक स्थायित्व र वैचारिक निरन्तरता बिना ‘वैकल्पिक’को नारा खोक्रो हुने चेतावनी स्थानीय नागरिक समाजले दिएको छ।

 

बालेन साहको लोकप्रियतासँग नाम जोडेर आफूलाई उस्तै ‘स्वतन्त्र’ देखाउने रणनीति पनि आलोचित छ। बालेन साहको छवि काम, स्पष्टता र निरन्तरताबाट बनेको हो; तर दल र क्षेत्र फेर्ने क्रमले त्यो नामलाई ढाल बनाउने प्रयास मात्र भएको आरोप उठेको छ।

 

बारा र वरपरका मतदाताले सोधिरहेका छन्—उम्मेदवार कुन हो? स्थानीय मुद्दामा टिकेर लड्ने नेता कि जहाँ टिकट मिल्छ त्यतै जाने अवसरवादी? विकास, सुशासन र जवाफदेहिताका ठोस योजना बिना प्रचारको चमकले मात्र मतदाता ढुक्क नहुने संकेत स्पष्ट छ।

राजनीतिमा परिवर्तन सम्भव छ, तर परिवर्तनको नाममा स्थायित्व, इमानदारी र सिद्धान्तको बलि चढाइयो भने त्यो परिवर्तन होइन—छल मात्र हुन्छ। ईन्जिनियर अरबिन्द साहको पछिल्लो यात्राले यही कठोर प्रश्न नेपाली राजनीतिमा पुनः उठाएको छ।

Leave A Reply

Your email address will not be published.