मधेशसमाचार

प्रसौनीमा ट्रक–स्कुटी ठक्कर : एक जनाको मृत्यु, एक घाइते

बारा , ११ माघ

जिल्ला बारा प्रसौनी गाउँपालिका–२ स्थित दुधौरा पुल नजिक सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय प्रसौनीका अनुसार मिति २०८२/१०/११ गते बिहान करिब ७:०० बजे वीरगञ्जबाट कलैया तर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मा.प्र.०३–०२७ प ७८२९ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटी चालक कलैया उपमहानगरपालिका–३ निवासी जय गुप्ताका छोरा अन्दाजी २० वर्षका आयुष गुप्ताको टाउकोमा गम्भीर चोट लागेको थियो। साथै स्कुटीको पछाडि सवार पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१० घरीहर्वा निवासी बिनोद साह कानुका छोरा अन्दाजी ३० वर्षका मौसम कुमार साहको दाहिने हात र ढाडमा चोट लागेको थियो।

दुवै घाइतेलाई उपचारका लागि एल.एस. न्युरो अस्पताल, परवानिपुर (बारा) पठाइएकोमा उपचारकै क्रममा बिहान करिब ८:०० बजे आयुष गुप्ताको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार भएको ट्रकलाई प्रहरीले खोजतलास गर्ने क्रममा म.प्र.०३–००२ ख ४१०२ नम्बरको ट्रकलाई कलैया स्थित हनुमान चौकबाट नियन्त्रणमा लिएको छ। उक्त ट्रक चालक रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–२ चौधरी टोल निवासी गोबिन्द्र चौधरीका छोरा अन्दाजी २४ वर्षका दिपेश चौधरीलाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा राखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button