रौतहट , १३ माघ
मधेस प्रदेशको रौतहट जिल्लामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि देशकै सम्भवत सबैभन्दा ठूलो ग्रामीण काठ फर्निचर मेला शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। श्रीपञ्चमीको पावन अवसर पारेर नेपाल विश्वकर्मा बजार समिति जयनगरको आयोजनामा गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको विशाल मेला सञ्चालनमा आएको हो।
नेपाल विश्वकर्मा लोहार संघका अध्यक्ष विवेक शर्माका अनुसार वि.सं. २०६५ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो मेला हरेक वर्ष थप व्यवस्थित र विस्तृत हुँदै गइरहेको छ। ग्रामीण क्षेत्रमा लाग्ने भए तापनि यसको आकार व्यापारिक कारोबार र जनसहभागिताका हिसाबले यो मेला अहिले राष्ट्रिय स्तरमै ग्रामीण फर्निचर हबका रूपमा चिनिन थालेको छ।
प्रत्येक वर्ष श्रीपञ्चमी (वसन्त पञ्चमी) देखि सुरु हुने यो मेला झण्डै दुई महिनासम्म चल्ने गर्दछ। मेलामा घरायसी प्रयोजनका फर्निचरदेखि परम्परागत कृषि औजारसम्मका सामग्रीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्।
आधुनिक डिजाइनका पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, बेञ्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज र बालबालिकाका खेलौनाहरू, स्थानीय लोहार समुदायले निर्माण गरेका चक्कु, कोदालो, हँसिया, कुटो, बञ्चरो र खुकुरीहरू समेत पाइने जनाए।
मेलामा रौतहटसहित छिमेकी जिल्लाहरू सर्लाही, महोत्तरी, बारा र पर्साका २०० भन्दा बढी फर्निचर व्यवसायीहरूले स्टल राखेका छन्। व्यवसायीहरू आउने क्रम अझै जारी रहेको आयोजक समितिले जनाए।
मेलाको विशेषता के छ भने यहाँ नेपालका विभिन्न शहरहरू काठमाडौँ, पोखरा, विराटनगर, जनकपुरबाट मात्र नभई छिमेकी देश भारतको बिहार प्रान्तअन्तर्गतका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्मका उपभोक्ता तथा व्यापारीहरू फर्निचर खरिद गर्न आउने गरेका छन्।
उपभोक्ताहरूका अनुसार बजारको तुलनामा यहाँ फर्निचरका सामानहरू २५ प्रतिशतसम्म सस्तो पाइन्छन्। व्यवसायीहरू यसका पछाडि दुईवटा मुख्य कारण बताउँछन्: आफ्नै क्षेत्रको काठ प्रयोग गरिनु र स्थानीय कालिगडहरू विश्वकर्मा लोहार समुदाले २–३ महिना अघिदेखि नै आफ्नै श्रम र सीप प्रयोग गरी सामान तयार पार्ने र सिधै उपभोक्तालाई बेच्ने भएकाले मूल्य कम पर्न गएको हो।
यही सस्तो र गुणस्तरीय विशेषताका कारण छोरीको विवाहमा दाइजोका लागि फर्निचर खरिद गर्ने अभिभावकहरूको पहिलो रोजाइ जयनगर मेला बन्ने गरेको छ।
यातायातको सहज पहुँच र स्थानीय रोजगारीको सिर्जनाले गर्दा यो मेला आर्थिक विकासको मेरुदण्ड बनेको छ। आयोजक नेपाल विश्वकर्मा बजार समितिले हरेक वर्ष बढ्दो कारोबारलाई मध्यनजर गर्दै आगामी दिनमा मेलालाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने योजना रहेको बताएको छ।
स्थानीयस्तरमा उत्पादित सामग्रीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन यो मेलाले सेतुको काम गरेको छ, जसले गर्दा लोहार समुदायको परम्परागत पेशालाई व्यावसायिक रूपमा टिकाइराख्न ठूलो मद्दत मिलेको छ।