सडक दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी तथा बास्केटबल खेलाडी आयुष गुप्ताप्रति श्रद्धाञ्जली अर्पण

8

बारा , १३ माघ

कलैयाबाट वीरगंज अध्ययनका लागि जाने क्रममा सडक दुर्घटनामा परी असामयिक निधन भएका कलैया उपमहानगरपालिका वडा नं. ३ भवानिपुर निवासी विद्यार्थी तथा बास्केटबल खेलाडी आयुष गुप्ताप्रति परिवारजन, साथीभाइ तथा खेलकुदकर्मीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

आइतबार (माघ ११ गते) बिहान कलैयाबाट वीरगंज तर्फ स्कुटीमा जाँदै गरेका गुप्ता ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै उनलाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको परिवारजनले बताएका छन्।

गुप्ताको असामयिक निधनले परिवार मात्र नभई शिक्षा र खेलकुद क्षेत्रमा समेत गहिरो शोक छाएको छ। उनी अध्ययनका साथै बास्केटबल खेलमा सक्रिय रहँदै आएका थिए र स्थानीयस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएका थिए।

श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले उनको सरल स्वभाव, खेलप्रतिको लगाव र अनुशासनको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, सहभागीहरूले सडक सुरक्षाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यस्ता दुःखद घटनाको पुनरावृत्ति नहोस् भनी प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

गुप्ताको निधनले स्थानीय समुदाय, विद्यार्थी वर्ग तथा खेलकुदप्रेमीहरूलाई स्तब्ध बनाएको छ।

Leave A Reply

Your email address will not be published.