मधेशसमाचार

सरुवा भएपनि कार्यालय नछोड्ने कार्यालय प्रमुख जयसवालको अटेर, प्रशासनिक अनुशासनमाथि प्रश्न

पर्सा , १३ माघ

पर्यटन विकास कार्यालयकी कार्यालय प्रमुख बबिता जयसवाल सरुवा भइसकेपछि पनि नयाँ कार्यस्थलमा हाजिर नभई साविककै कार्यालयमा बसिरहेकी पाइएको छ। उनी गत माघ २ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भइन्। तर सरुवा निर्णय कार्यान्वयन नगरी हालसम्म पर्यटन विकास कार्यालयमै कार्यरत रहेको स्रोतले जनाएको छ।

सरुवा आदेशपछि तोकिएको कार्यालयमा हाजिर हुनु सरकारी कर्मचारीको अनिवार्य दायित्व भए पनि जयसवालले उक्त आदेशलाई अटेर गरेको आरोप लागेको छ। स्रोतका अनुसार उनले आफ्नो सरुवा बदर गराउन मन्त्रालयदेखि विभिन्न निकायसम्म पहल गरिरहेको बताइएको छ।

त्यस्तै, सरुवा कार्यान्वयन हुन नदिन उनले आफू निकट कर्मचारी संगठन तथा केही कर्मचारी नेतामार्फत दबाब सिर्जना गर्ने प्रयास गरिरहेको चर्चा समेत चलेको छ। यसरी सरुवा आदेश कार्यान्वयन नगरी साविककै कार्यालयमा बसिरहनु प्रशासनिक नियम, अनुशासन र सुशासनको मर्मविपरीत भएको सरोकारवाला पक्षको भनाइ छ।

स्थानीय जानकारहरूका अनुसार कार्यालय प्रमुख स्वयंले सरकारको निर्णय अवज्ञा गर्नुले कर्मचारी प्रशासनप्रति आम नागरिकको विश्वास कमजोर बनाउने खतरा देखिएको छ। “सरुवा सामान्य प्रशासनिक प्रक्रिया हो, यसलाई नमान्नु अनुशासनहीनता हो,” एक स्थानीय जानकारले भने।

यस विषयमा सम्बन्धित मन्त्रालय र नियमनकारी निकायले चासो देखाई तत्काल आवश्यक कदम चाल्नुपर्ने मागसमेत उठ्न थालेको छ। सरुवा आदेशको अवज्ञा गर्ने प्रवृत्तिले सरकारी कार्यालयभित्र मनपरी र अराजकता बढ्न सक्ने भन्दै समयमै छानबिन र कारबाही आवश्यक रहेको आवाज बलियो बन्दै गएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button