काठमाडौँ , १३ माघ
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई (मधेश) द्रुतमार्गको निर्माणस्थलको स्थलगत निरीक्षण गरेकी छन् । प्रधानमन्त्री कार्कीले आज बिहान नेपाली सेनाका उच्च अधिकारी तथा सम्बन्धित मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूको टोलीसहित द्रुतमार्गको विभिन्न खण्ड अवलोकन गरेकी हुन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्रीले निर्माण कार्यको समग्र प्रगति, चुनौती र हालसम्म भएका उपलब्धिबारे जानकारी लिएकी थिइन् । उनले आयोजना तोकिएको समयसीमाभित्र सम्पन्न गर्न निर्माण कार्यलाई थप तीव्रता दिन निर्देशन दिँदै आवश्यक समन्वय र सहयोगका लागि सरकार पूर्ण रूपमा तयार रहेको स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीले काठमाडौँ–तराई द्रुतमार्ग देशको आर्थिक, सामाजिक तथा रणनीतिक विकासका लागि अत्यन्तै महत्त्वपूर्ण आयोजना भएको उल्लेख गर्दै यसले काठमाडौँ उपत्यका र तराई–मधेशबीचको आवागमनलाई सहज बनाउने बताइन् । द्रुतमार्ग निर्माण सम्पन्न भएपछि यात्रा समय उल्लेख्य रूपमा घट्ने र व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धनमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो ।
काठमाडौँ उपत्यकालाई बाराको निजगढसँग जोड्ने यो छोटो दुरीको मार्गलाई रणनीतिक दृष्टिकोणले समेत अत्यन्तै महत्त्वपूर्ण मानिएको छ । नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको यस आयोजनाले मुलुकको पूर्वाधार विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
निरीक्षण कार्यक्रममा सहभागी अधिकारीहरूले हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै बाँकी काम समयमै सम्पन्न गर्न आवश्यक स्रोत, साधन र प्राविधिक व्यवस्थापनका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।