मधेशराष्ट्रियसमाचार

रास्वपामा मधेसकी संस्थापक नेतृ उपेक्षित : टिकट काण्डले पार्टीभित्र गहिरिँदै असन्तोष

सिकिन्द्र साह

बारा , १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मालाई निर्वाचनको टिकट नदिएपछि पार्टीभित्र गम्भीर आन्तरिक विवाद चुलिएको छ। मधेसमा संगठन शून्यप्रायः अवस्थामा रहेको बेला पार्टी निर्माणमा अग्रमोर्चामा रहेकी नेतृलाई अन्तिम समयमा पन्छाइएको घटनाले रास्वपाको ‘परिवर्तनको राजनीति’ माथि नै प्रश्न उठेको छ।

बारा निवासी शर्मा यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने तयारीमा थिइन्। पार्टी नेतृत्वबाट अन्तिम समयसम्म टिकट दिने आश्वासन दिइए पनि अन्ततः अर्कै उम्मेदवारलाई टिकट दिएपछि मधेस प्रदेशभर यो विषय तीव्र चर्चामा आएको छ।

बारा–१ का क्षेत्रीय सभापति रजनीश कुशवाहाले नेतृत्वको निर्णयप्रति खुलेर असन्तोष जनाउँदै भने,

“ममताजीलाई टिकट नदिइनु बाराबासीका लागि अचम्मको कुरा हो। मधेसमा रास्वपाको कोही नभएको बेला उनले पार्टी बोक्नुभयो। त्यतिबेला मनीष झाको पनि उपस्थिति थिएन, तर आज संस्थापक नेतृ नै पाखा लगाइएकी छन्।”

शर्माले समानुपातिक तर्फ पनि उम्मेदवारी दिएकी थिइन्। प्राइमरी निर्वाचनमा तेस्रो स्थान हासिल गरेकी उनको नाम पार्टीले सूची बनाउँदा सातौँ नम्बरमा राखेपछि उनले समानुपातिक सूची अस्वीकार गरेकी थिइन्। त्यसपछि पार्टी सभापति रवि लामिछाने स्वयंले मधेसबाट प्रत्यक्ष चुनाव लड्नुपर्ने भन्दै आश्वासन दिएको उनको दाबी छ।

तर अन्तिम क्षणसम्म आश्वासन दिइए पनि बारा–२ मा अर्कै उम्मेदवारको नाम सार्वजनिक भएपछि मात्र आफू टिकटबाट बाहिरिएको थाहा पाएको नेता जयसवालले बताए।

नेतृ शर्माले टिकट प्रक्रियाको भित्री दृश्य खुलाउँदै भनिन्,

“म राति १२–१ बजेसम्म जनकपुरको होटलमा टिकटको आशामा बसेँ। सभापति, उपसभापति डीपी अर्याल, मनीष झा सबैले ‘तपाईंले नै टिकट पाउनुहुन्छ’ भन्नुभयो। तर राति एक–एक गरी बहानामा होटल छोड्दै गए। दुई बजे राति मात्रै म बारा फर्किएँ।”

उनका अनुसार मनीष झाले माघ ६ गतेसम्म पनि “टिकट तपाईंको नै हो” भन्दै आश्वासन दिँदै आएका थिए। तर अन्ततः पार्टीले चन्दन सिंहलाई टिकट दिएको भन्दै उनले गहिरो असन्तोष व्यक्त गरिन्।

“मधेसमा रास्वपाको कोही नभएको बेला आठै जिल्लामा गएर संगठन बनाएँ। एक–एक मान्छे जोडेँ। आज पार्टी बलियो भएपछि बाहिरबाट मान्छे ल्याएर टिकट दिइयो,” शर्माले भनिन्, “यो अपमान हो।”

आफूलाई बारम्बार आश्वासन दिएर पछाडि पारिएको भन्दै उनले कडा शब्दमा भनिन्,

“परिवर्तनको राजनीति गर्ने दाबी गर्ने पार्टीमै मधेसकी एउटी महिलासँग विश्वासघात भएको छ। मधेसका महिलाहरू राजनीतिमा आउन हिच्किचाउँछन्, त्यसमाथि संकटको बेला साथ दिएकी महिलालाई धोखा दिनु दुःखद हो।”

रास्वपा मधेस प्रदेशका सभापति तपेश्वर यादवले पनि ममता शर्माको नाम एक नम्बरमै सिफारिस भएको स्वीकार गर्दै भने,

“मधेसमा रास्वपाको जन्म ममताजीबाटै भएको हो। उनी नै टिकटकी वास्तविक हकदार थिइन्। तर केन्द्रले किन अन्तिममा नाम काट्यो, त्यो हामीलाई पनि थाहा छैन।”

उनका अनुसार यसपटक रास्वपाको टिकट वितरण प्रक्रिया नै अस्पष्ट रह्यो। बालेन, अमरेश सिंहलगायत विभिन्न टिमबाट टिकट बाँडिएको कारण कसले ममताको नाम हटायो भन्ने अन्योल कायमै छ।

यस घटनाले रास्वपाभित्रको निर्णय प्रक्रिया, मधेसप्रतिको दृष्टिकोण र महिला नेतृत्वप्रतिको व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button