देवताल गाउँपालिका–१ बडकी फुलवरियामा आयोजित शिव मधानी महायज्ञ तथा हजारी काफलामा चन्दन कुमार सिंहको सहभागिता
बारा, १४ माघ
देवताल गाउँपालिका वार्ड नं. १ बडकी फुलवरियामा भव्य रूपमा सञ्चालन भइरहेको शिव मधानी महायज्ञ तथा हजारी काफला कार्यक्रममा बारा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार चन्दन कुमार सिंह सहभागी भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका सिंहले महायज्ञस्थलमा पुगेर कमरथुवा बाबाहरूबाट आशीर्वाद ग्रहण गर्दै धार्मिक अनुष्ठानमा सहभागिता जनाए। उनले महायज्ञको दर्शन गर्दै स्थानीय श्रद्धालु, धार्मिक अगुवा तथा आयोजक समितिका पदाधिकारीहरूसँग भेटघाट तथा संवाद पनि गरेका थिए।
कार्यक्रमका क्रममा सिंहले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको संरक्षणमा यस्ता महायज्ञहरूको महत्त्व रहेको उल्लेख गरे। उनले स्थानीय संस्कार, परम्परा र आस्थालाई सम्मान गर्दै विकास र सुशासनलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। “धर्म, संस्कृति र विकास एकअर्काका पूरक हुन्,” उनले भने, “स्थानीय समुदायको भावना र आवश्यकतालाई आत्मसात् गर्दै जनताको सेवामा लाग्नेछु।”
महायज्ञमा क्षेत्रका विभिन्न स्थानबाट श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजक समितिले धार्मिक कार्यक्रममार्फत सामाजिक सद्भाव, नैतिकता र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य रहेको जानकारी दिएको छ।
कार्यक्रमपछि स्थानीयवासीहरूले उम्मेदवार सिंहको उपस्थितिलाई स्वागतयोग्य बताउँदै आगामी दिनमा पनि जनस्तरका कार्यक्रमहरूमा निरन्तर सहभागिता अपेक्षा व्यक्त गरेका छन्।