गाई सम्बन्धी गैर–जिम्मेवार अभिव्यक्तिले सामाजिक सन्तुलनमा चोट : उमेश दुबे

9

बारा , ११ माघ

गाईको विषयमा हालै सार्वजनिक रूपमा आएको गैर–जिम्मेवार अभिव्यक्तिले केवल एउटा व्यक्तिको सोच मात्र उजागर नगरी तराई र पहाडी भूगोल बीचको संवेदनशील सामाजिक सन्तुलनमै चोट पुर्‍याएको जनमत पार्टीका केन्द्रीय सदस्य तथा समाजसेवी उमेश दुबेले बताएका छन्।

उनका अनुसार नेपालजस्तो बहु–जाति, बहु–संस्कृति र बहु–आस्थाको देशमा धार्मिक तथा सांस्कृतिक रूपमा गहिरो रूपमा जोडिएका विषयमा बोल्दा गम्भीरता, समझदारी र आपसी सम्मान अत्यावश्यक हुन्छ। “गाइ नेपाली समाजमा केवल एउटा पशु होइन, धार्मिक, सांस्कृतिक र भावनात्मक रूपमा जोडिएको विषय हो,” दुबेले भने, “यस्ता संवेदनशील विषयमा अपमानजनक वा उत्तेजक अभिव्यक्ति आउँदा त्यसको असर सीमित व्यक्ति वा समुदायमा मात्र रहँदैन, त्यसले समग्र राजनीतिक वातावरणलाई नै प्रभावित गर्छ।”

दुबेले उक्त अभिव्यक्तिले सम्बन्धित दलको छवि र जनविश्वासमा समेत सीधा प्रहार गरेको उल्लेख गर्दै तराई र पहाड दुवै क्षेत्रमा त्यसको नकारात्मक सन्देश गएको बताए। “रास्वपाको ‘घन्टी’ बज्नुको साटो फुट्ने संकेत देखिन थालेको छ,” उनले भने, “यस्ता अभिव्यक्तिले समाज जोड्ने राजनीति होइन, विभाजनको राजनीति बलियो बनाउँछ।”

उनका अनुसार राजनीति जनताको भावना बुझेर समाजलाई एकतामा बाँध्ने माध्यम हुनुपर्छ, विभाजन गर्ने हतियार होइन। “विचार स्वतन्त्रता लोकतन्त्रको आत्मा हो, तर जिम्मेवारीबिनाको अभिव्यक्ति लोकतन्त्रकै घाँटी थिच्ने काम बन्छ,” दुबेले स्पष्ट पारे।

उनले थपे, “यदि कुनै पार्टी आफ्ना प्रतिनिधिबाट आएका यस्ता बोलीप्रति समयमै आत्मालोचना गर्न र स्पष्ट धारणा सार्वजनिक गर्न सक्दैन भने जनविश्वास कमजोर हुनु स्वाभाविक हुन्छ।”

दुबेले रास्वपाको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै भने, “अब प्रश्न स्पष्ट छ—पार्टीले यसलाई व्यक्तिको व्यक्तिगत विचार भन्दै पन्छाउने कि सम्पूर्ण नेपाली समाजप्रति सम्मान प्रकट गर्दै जिम्मेवार भूमिका निर्वाह गर्ने ?”

उनका अनुसार समयमै यस्ता विषय सच्याइएन भने यो एउटा बयानमा सीमित नरही तराई र पहाड दुवै क्षेत्रमा राजनीतिक समीकरण उल्ट्याउने कारण बन्न सक्छ। “जनताले अब भाषण होइन, व्यवहार र जिम्मेवारी हेर्ने समय आएको छ,” दुबेले निष्कर्ष निकालेका छन्।

Leave A Reply

Your email address will not be published.