मधेशसमाचार

समाचार प्रकाशनपछि मटिअर्वा नाकामा च्यातिएको राष्ट्रिय झण्डा फेरे जनमत पार्टीका उम्मेदवार प्रमोद साहले

कलैया, १४ माघ

कलैया उपमहानगरपालिका वडा नम्बर–१० मटिअर्वा प्रवेशद्वारमा फहराइएको नेपालको राष्ट्रिय झण्डा च्यातिएको अवस्थामा फेला परेपछि प्रकाशित समाचारको प्रभावमा बुधबार नयाँ झण्डा फहराइएको छ।
भारत–नेपाल सिमानामा अवस्थित उक्त गेटको माथि राखिएको राष्ट्रिय झण्डा लामो समयदेखि च्यातिएको अवस्थामै रहे पनि सम्बन्धित निकायको ध्यान नपुगेको भन्दै स्थानीय पत्रकार चन्देश्वर प्रसाद (राजु) चौरसियाको पहलमा सामाजिक सञ्जालमार्फत विषय सार्वजनिक गरिएको थियो। त्यसपछि यस दैनिकले “कलैया–१० मटिअर्वा प्रवेशद्वारमा राष्ट्रिय झण्डाको अपमान” शीर्षकमा समाचार प्रकाशन गरेको थियो।
समाचार तथा पत्रकार चौरसियाको ध्यानाकर्षणपछि जनमत पार्टीका बारा क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा उम्मेदवार प्रमोद साहले उक्त स्थानमा नयाँ राष्ट्रिय झण्डा फेरेका हुन्।
स्थानीय शंकर प्रसाद गुप्ताले राष्ट्रियता र देशको सम्मानका लागि सदैव अग्रसर रहने नेता प्रमोद साहलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार राष्ट्रिय झण्डाजस्तो संवेदनशील विषयमा चासो देखाएर तत्काल कदम चाल्नु प्रशंसनीय कार्य हो।
यसअघि प्रवेशद्वारमा झण्डा च्यातिएको देखिएपछि स्थानीयवासीहरू आक्रोशित बनेका थिए। राष्ट्रिय स्वाभिमान, पहिचान र एकताको प्रतीक मानिने झण्डाको यस्तो अवस्था हुनु अत्यन्तै निन्दनीय र दुःखद भएको उनीहरूको भनाइ थियो। स्थानीयले लामो समयदेखि संरक्षण, मर्मत तथा निगरानीमा लापरवाही हुँदा राष्ट्रिय प्रतीक अपमानित हुन पुगेको आरोप लगाएका थिए।
स्थानीयवासीहरूले तत्काल नयाँ झण्डा फहराउन, घटनाको सत्यतथ्य छानबिन गर्न र दोषी पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका थिए। “राष्ट्रिय झण्डाको सम्मान गर्नु प्रत्येक नागरिक र सरोकारवाला निकायको दायित्व हो,” एक स्थानीयले भने, “यस्ता घटनाले राष्ट्रिय चेतनामाथि प्रश्न उठाउँछ।”
घटनाबारे सम्बन्धित निकायले औपचारिक प्रतिक्रिया नजनाए पनि अब पुनः यस्ता संवेदनशील विषयमा लापरवाही नहोस् भन्ने अपेक्षा स्थानीयले व्यक्त गरेका छन्। राष्ट्रिय झण्डा राष्ट्रको गौरव र आत्मसम्मानको प्रतीक भएकाले यसको संरक्षण र सम्मानप्रति सबै पक्ष जिम्मेवार हुनुपर्नेमा उनीहरूको जोड रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button