धारिलो हतियार प्रयोग गरी दुई जनाको हत्या, संलग्न दुई अभियुक्त पक्राउ

76

कलैया , १५ माघ

बाराको परवानीपुर गाउँपालिका–१ रहरिया डिहमा धारिलो हतियार प्रयोग गरी दुई जनाको हत्या भएको घटनामा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बिहान करिब २ बजे जगरूप मण्डलको घरमा एक अपरिचित पुरुष प्रवेश गरी चक्कु प्रहार गर्दा पाँच जना घाइते भएका थिए। घाइतेमध्ये ३१ वर्षीय राम ईश्वर मण्डल र ४६ वर्षीया सुमित्रा मण्डलको घटनास्थलमै मृत्यु भएको थियो।

घटनापछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा खटिएको अनुसन्धान टोलीले घटनास्थलको मुचुल्का, लासजाँचलगायतका अनुसन्धान कार्य सम्पन्न गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो। घटनामा घाइते ५० वर्षीय जगरूप मण्डल र उनकी २१ वर्षीया छोरी रिना कुमारी मण्डलको एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरी अनुसन्धानका क्रममा मृतक राम ईश्वर मण्डलकी २३ वर्षीया श्रीमती मनिता देवी मण्डल र प्रसौनी गाउँपालिका–७ का २७ वर्षीय धर्मेन्द्र महतो धानुक उक्त घटनामा संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराको प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ‌

 

मनिता देवी मण्डललाई उपचारपछि अस्पतालबाटै नियन्त्रणमा लिइएको हो भने धर्मेन्द्र महतो धानुकलाई बिश्रामपुर गाउँपालिका–४ मुसहर्वाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रबक्ता पंडितले जानकारी दिएका छन्।

 

पक्राउ परेका दुवै अभियुक्तलाई ज्यानसम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट विवाहेत्तर सम्बन्धका कारण उत्पन्न घरायसी विवाद नै घटनाको मुख्य कारण रहेको खुलेको छ। प्रहरीका अनुसार धर्मेन्द्र महतो धानुक वैदेशिक रोजगारीका लागि यूएईमा रहेका थिए। उनी माघ ११ गते नेपाल आएपछि घरपरिवारको सम्पर्कमा नबसी मनिता देवी मण्डलसँग मिलेर हत्याको योजना बनाई घटना घटाएको खुल्न आएको छ। साथै बाराले घटनाबारे थप अनुसन्धान जारी रहेको प्रबक्ता एबम् प्रहरी नायव उपरीक्षक पंडितले जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.