मधेशसमाचार

अधूरा योजना पूरा गर्न पुनः उम्मेदवारी दिएको रामबाबु यादवको भनाइ

बारा , १६ माघ

बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका पूर्व निर्वाचित सांसद रामबाबु यादवले अधूरा विकासका काम पूरा गर्ने उद्देश्यले आफूले पुनः उम्मेदवारी दिएको बताएका छन्।

यादव २०७४ सालको निर्वाचनमा बारा–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उक्त कार्यकालमा आफूले क्षेत्रका जनताका लागि विभिन्न विकास योजना ल्याउन सफल भएको उनको भनाइ छ। तर २०७९ सालको निर्वाचनमा भने उनी पराजित भएका थिए।

पराजयपछि पनि आफू जनताको सेवाबाट अलग नभएको बताउँदै यादवले निर्वाचित हुँदा सुरु गरेका तर पूरा गर्न नसकेका योजनाहरू अधुरै रहन गएको उल्लेख गरे। “जनताको आवश्यकता अनुसार ल्याइएका धेरै योजनाहरू कार्यान्वयनको चरणमै रोकिए। ती अधूरा कामलाई पूर्णता दिनकै लागि मैले पुनः उम्मेदवारी दिएको हुँ,” यादवले भने।

हाल उनी आगामी निर्वाचनका लागि जापान पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेद्वार बनेका छन्। उम्मेदवारी दर्तापछि उनी क्षेत्रका विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो अघिल्लो कार्यकालका अनुभव र भावी योजनाबारे जानकारी गराइरहेका छन्।

यादवले विकास, जनसेवा र स्थानीय समस्या समाधानलाई प्राथमिकतामा राख्दै मतदातासँग पुनः एकपटक अवसर दिन आग्रह गरिरहेका छन्। बारा–३ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा विभिन्न उम्मेद्वारका दाबी र प्रतिबद्धताले राजनीतिक सरगर्मी बढेको देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button