रौतहट , १६ माघ
जिल्लाको राजदेवी नगरपालिका–७ स्थित श्री नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय मुडवलवामा बिहीबार जिल्ला स्तरीय बज्जिका कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको ६६औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर राय यादवको सभापतित्व तथा पूर्व संविधानसभा सदस्य रम्भा देवीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रतियोगितामा जिल्लाभरबाट छनाैट भई आएका २१ जना नवसर्जक विद्यार्थीले आफ्ना बज्जिका कविता वाचन गरेका थिए । प्राप्त ५१ रचनामध्ये पहिलो चरणको छनोटपछि यी रचनाहरू वाचनका लागि छनोट गरिएको विद्यालयका प्रधानाध्यापक रवी शंकर यादवले जनाए ।
प्रतियोगितामा मा.वि. मुडवलवाकी हर्षिता कुमारी यादव प्रथम, जनता मा.वि. औरैयाकी करिश्मा कुमारी द्वितीय तथा शंकर गुदर मा.वि. समनपुरकी इशा कुमारी दास तृतीय हुन सफल भइन् । विद्यालयतर्फबाट मा.वि. मुडवलवा प्रथम, जनता मा.वि. औरैया द्वितीय र शंकर गुदर मा.वि. समनपुर तृतीय घोषित भए । विजेतालाई प्रमुख अतिथि र सभापतिले संयुक्त रूपमा पुरस्कार वितरण गरे । कार्यक्रममा जिल्लाभरका बज्जिका साहित्यकार, सरोकारवाला तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।