रौतहट , १७ माघ
जिल्लाको चन्द्रपुर नगरपालिकास्थित दुई प्रतिष्ठित शैक्षिक संस्थामा सडक दुर्घटना विरुद्ध युवा अभियान–२०८२ अन्तर्गत विशेष ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। शहिद दिवस तथा विद्यालयको वार्षिक खेलकुद सप्ताहको अवसर पारेर शुक्रबार बालनिकेतन माध्यमिक विद्यालय र मुनलाईट एकेडेमीमा छुट्टाछुट्टै सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले दुवै विद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै सडक सुरक्षा र ट्राफिक नियमको महत्वबारे प्रकाश पारेका थिए। सो क्रममा उनले बढ्दो सवारी चाप र असावधानीका कारण हुने दुर्घटना न्यूनीकरण गर्न युवा विद्यार्थी र अभिभावकको भूमिका निर्णायक हुने बताए।
सचेतना कार्यक्रममा प्रहरी निरीक्षक थापा मगरले उपस्थित शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई
सडकमा हिँड्दा बाटो काट्दा र सवारी साधन चलाउँदा पालना गर्नुपर्ने आधारभूत नियमहरू,
तीव्र गति मादक पदार्थ सेवन र लापरवाहीपूर्ण ड्राइभिङले निम्त्याउने जोखिमबारे सचेत गराइएको,
सडक दुर्घटना विरुद्ध युवा अभियान–२०८२ मार्फत विद्यालयस्तरबाटै सडक अनुशासनको संस्कार विकास गर्ने उद्देश्य, बालनिकेतन मा.वि. र मुनलाईट एकेडेमीमा आयोजित उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, कर्मचारी, अध्ययनरत सयौँ विद्यार्थी, अभिभावक तथा स्थानीय सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शहिद दिवसको पुण्य तिथिमा आयोजना गरिएको यस कार्यक्रमले एकातिर खेलकुदको माध्यमबाट विद्यार्थीमा अनुशासन भर्ने प्रयास गरेको छ भने अर्कोतिर सडक सुरक्षा जस्तो गम्भीर विषयमा प्रत्यक्ष जानकारी दिएर नागरिक जिम्मेवारीको बोध गराएको सहभागीहरूले बताए । ट्राफिक प्रहरीले पछिल्लो समय चन्द्रपुर क्षेत्रका विभिन्न विद्यालय र सार्वजनिक स्थलमा यस्ता सचेतना कार्यक्रमलाई तीव्रता दिँदै आएको हो ।