मधेशसमाचार

केन्द्रीय कारागारबाट फरार ठगी अभियोगी वीरगञ्जबाट पक्राउ

पर्सा , १७ माघ

केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका ठगी मुद्दाका एक अभियोगीलाई पर्सा प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार वीरगंज महानगरपालिका–१६ नागवा टोल निवासी ३२ वर्षीय प्रविन चौरसियालाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार चौरसिया ठगी सम्बन्धी मुद्दामा अदालतबाट ५ वर्ष ६ महिना कैद र ७८ हजार ५०० रुपैयाँ जरिवानाको सजाय पाइसकेका थिए। सजाय कार्यान्वयनका क्रममा उनी जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका थिए।

पूर्वसूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली तथा मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार दिउँसो करिब ४:०० बजे वीरगंज महानगरपालिका–१५ स्थित रामनगर चोकबाट उनलाई पक्राउ गरेको हो।

पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई वीरगञ्ज कारागार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तरता दिने र ठगीजस्ता आर्थिक अपराध नियन्त्रणमा कडाइ गरिने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button