बारा , १७ माघ
बारा निर्वाचन क्षेत्र नम्बर–२ मा जनताको भरोसा चन्दन सिंहमाथि नै केन्द्रित हुँदै गएको देखिएको छ। विगतमा उनले निर्वाह गरेको जिम्मेवारी, विकासप्रतिको प्रतिबद्धता र स्वच्छ छविका कारण पार्टीभन्दा पनि व्यक्ति विशेषका रूपमा सिंहप्रति जनचाहना बढेको स्थानीयहरू बताउँछन्।
स्थानीय प्रमोद गिरीका अनुसार चन्दन सिंहले २०७४ सालमा देवताल गाउँपालिकामा निर्वाह गरेको कार्यकाल बारा–२ का मतदाताका लागि स्मरणीय बनेको छ। सो अवधिमा आधारभूत पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा जनमुखी कार्यक्रमहरू अघि बढाउँदा सिंहले स्थानीय स्तरमा सकारात्मक छवि निर्माण गर्न सफल भएको गिरीको भनाइ छ।
गिरी भन्छन्, “आज बारा–२ मा पार्टीको झण्डाभन्दा पनि उम्मेदवारको काम र इमानदारितालाई जनता हेर्न थालेका छन्। चन्दन सिंहले पाँच वर्षे कार्यकालमा देखाएको स्वच्छ छवि र विकासप्रतिको निष्ठाका कारण नै जनताको चाहना उहाँतर्फ बढेको हो।”
स्थानीयहरूको बुझाइमा सिंहले देवताल गाउँपालिकामा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा प्राथमिकता दिँदै काम गरेका थिए। साथै, विकास योजनामा पारदर्शिता अपनाएको र जनतासँग प्रत्यक्ष संवादमा रहने शैलीले पनि उनको लोकप्रियता बढाएको बताइन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय बारा–२ मा देखिएको यो जनधारणा परम्परागत पार्टी राजनीतिबाट केही फरक दिशातर्फ उन्मुख छ। मतदाताहरू अब नाराभन्दा कामको मूल्यांकन गर्न थालेका छन्, जसको प्रत्यक्ष उदाहरणका रूपमा चन्दन सिंहप्रति बढ्दो भरोसालाई लिन सकिने उनीहरूको भनाइ छ।
हाल बारा–२ मा चन्दन सिंहलाई अनुभवी, विकासमुखी र भरोसायोग्य नेतृत्वका रूपमा हेरिएको छ। आगामी निर्वाचन नजिकिँदै जाँदा यो जनसमर्थनले चुनावी समीकरणमा कस्तो प्रभाव पार्छ, त्यो भने समयले देखाउनेछ।