ट्याक्टरबाट उखु झरेर किचिँदा रौतहटका एक युवकको मृत्यु

17

रौतहट, १७ माघ

सर्लाहीको बकदहस्थित चिनी मिलमा उखु पुर्‍याउन जाने क्रममा ट्याक्टरबाट झरेर किचिँदा रौतहटका एक युवकको असामयिक निधन भएको छ। रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ६ मोहनपुर टोल निवासी २७ वर्षीय राजु पटेलको शुक्रबार बेलुका भएको उक्त दुर्घटनामा ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मधेसर पटेलका छोरा राजु पटेल शुक्रबार बेलुका करिब ४ बजेको समयमा उखु लोड गरिएको ट्याक्टरमा चढेर सर्लाहीको बकदहमा रहेको चिनी मिलतर्फ जाँदै थिए। सोही क्रममा अचानक ट्याक्टरबाट भुइँमा झरेका उनलाई उही ट्याक्टरको चक्काले किचेको थियो। उखुले भरिएको गह्रौँ ट्याक्टरले किचिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाए।

घटना लगतै पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरी मृतकको शवलाई पोस्टमार्टमका लागि सर्लाहीको सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा पठाएको छ। दुर्घटनामा संलग्न ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए।

हिउँदको समयमा उखु ढुवानीका क्रममा सुरक्षा सावधानी नअपनाउँदा र ओभरलोडका कारण यस्ता दुर्घटनाहरू मधेश प्रदेशका जिल्लाहरूमा बढ्दो क्रममा देखिएका छन्।

Leave A Reply

Your email address will not be published.