यातायात कार्यालय कलैयामा सेवाग्राहीमैत्री सेवा, प्रमुख चिन्तन आचार्यको कार्यशैलीको प्रशंसा

44

कलैया , १७ माघ

सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयहरूमध्ये एक महत्त्वपूर्ण निकाय यातायात व्यवस्था कार्यालय कलैयामा पछिल्लो समय उल्लेखनीय सुधार देखिएको छ। कार्यालय प्रमुखको रूपमा हाजिर भएका चिन्तन आचार्यले सेवाग्राहीको सुविधालाई केन्द्रमा राख्दै कार्यालय सञ्चालन गरिरहेका छन्।

आचार्यले यातायात व्यवस्था कार्यालय कलैयामा जिम्मेवारी सम्हालेयता सीमित कर्मचारीको बीचमा पनि दैनिक रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी बायोमेट्रिक, लिखित परीक्षा तथा ट्रायल परीक्षा नियमित रूपमा सञ्चालन गरिरहेका छन्। यसले लामो समयदेखि देखिँदै आएको सेवाग्राहीको भीड, ढिलासुस्ती र अनावश्यक झन्झटलाई क्रमशः कम गर्दै लगेको छ।

दैनिक रूपमा बायोमेट्रिक, लिखित र ट्रायल परीक्षा सञ्चालन हुन थालेपछि सेवाग्राहीहरू कम समयमा सहजै सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सक्षम भएका छन्। सेवाग्राही श्याम ठाकुरका अनुसार पहिले लाइसेन्सका लागि महिनौँ कुर्नुपर्ने अवस्था रहे पनि अहिले भने समयमै सेवा पाउन थालिएको छ।

“अनलाइन फारम भरेलगत्तै बायोमेट्रिकको मिति आउने गरेको छ। बायोमेट्रिक गरेकै दिन लिखित परीक्षा र त्यसको लगत्तै ट्रायल परीक्षा पनि हुने भएकाले समय मात्र होइन, खर्च पनि धेरै बचत भएको छ,” ठाकुरले बताए।

उनका अनुसार यातायात कार्यालय कलैयामा लाइसेन्सका लागि लामो प्रतिक्षा गर्नुपर्ने झन्झट अहिले लगभग हटिसकेको छ। सेवाग्राहीको समय र पैसाको कदर हुने गरी सेवा प्रवाह हुनु सकारात्मक परिवर्तन भएको उनी बताउँछन्।

दैनिक रूपमा परीक्षा सञ्चालन हुन थालेपछि कार्यालयको व्यवस्थापन पनि क्रमशः व्यवस्थित बन्दै गएको देखिन्छ। विभिन्न राजनीतिक दलप्रति आस्था राख्ने राकेश पाण्डेयले समेत कार्यालय प्रमुख आचार्यको खुलेर प्रशंसा गरेका छन्। “नियमित रूपमा बायोमेट्रिक, लिखित र ट्रायल परीक्षा सञ्चालन हुँदा कार्यालयको भीड नियन्त्रणमा आएको छ, कामकाज पारदर्शी र व्यवस्थित देखिन्छ,” पाण्डेयले भने।

स्थानीय स्तरमा यातायात कार्यालय कलैयाको यो सुधारलाई सेवाग्राहीमैत्री प्रशासनको उदाहरणका रूपमा हेरिन थालेको छ। सीमित स्रोतसाधन र जनशक्तिको बीचमा पनि सेवाको प्रभावकारिता बढाउन सकिन्छ भन्ने सन्देश कार्यालय प्रमुख चिन्तन आचार्यको कार्यशैलीले दिएको स्थानीयको बुझाइ छ।

सेवाग्राही केन्द्रित सेवा प्रवाह निरन्तर रहिरहे यातायात कार्यालय कलैया नागरिकमैत्री सरकारी कार्यालयको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.