मधेशसमाचार

रातारात पार्टी र निर्वाचन क्षेत्र फेरेका उम्मेदवारप्रति बारा–३ मा चर्किँदो प्रश्न

कलैया , १७ माघ

बारा–३ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्जिनियर अरबिन्द साहप्रति स्थानीय स्तरमा गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। रातारात पार्टी परिवर्तन गर्नुका साथै निर्वाचन क्षेत्रसमेत फेरि उम्मेदवारी दिएका साहसँग स्पष्ट राजनीतिक ऐजेण्डा नरहेको स्थानीयहरू बताउँछन्।

इन्जिनियर साहले घरदैलो कार्यक्रम तथा जनतासँगको प्रत्यक्ष भेटघाटमा आफ्ना ठोस योजना, विकासका खाका वा क्षेत्रीय समस्यासम्बन्धी दृष्टिकोण प्रस्तुत गर्न नसकेको आरोप लागेको छ। बरु उनले आगामी निर्वाचनमा ‘परिवर्तन आवश्यक छ’ भन्ने सामान्य नारालाई अघि सार्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम जोडेर मात्र मत मागिरहेको देखिन्छ।

स्थानीयका अनुसार साहले “बालेनको सरकार बनाउनुपर्छ” भन्ने नारालाई प्रमुख अस्त्र बनाउँदै घण्टी चिन्हमा मतदान गर्न आग्रह गरिरहेका छन्। तर आफू उम्मेदवार बनेको क्षेत्र बारा–३ का वास्तविक समस्या, आवश्यकता र प्राथमिकताबारे उनी मौन देखिएको जनगुनासो छ।

यसैक्रममा इन्जिनियर साहले कलैया उपमहानगरपालिका–१४, बघवनमा सम्पर्क कार्यालय उद्घाटन गरी जनतासँग भेटघाट गरेका थिए। सो कार्यक्रममा उनले यही धारणा व्यक्त गरेको जानकारी स्थानीय सुरेश पासवानले दिएका छन्।

पासवानका अनुसार इन्जिनियर साह पैसाको बलमा चुनावी मैदानमा उत्रिएको चर्चा गाउँ–टोलमा व्यापक छ। “आफ्नै राजनीतिक पहिचान र ऐजेण्डा नहुँदा बालेनको नाम भजाएर उम्मेदवारी दिएका हुन्,” पासवानले भने। उनले थपे, “जनताको विश्वास जित्न योजना र इमानदारिता चाहिन्छ, केवल चर्चित नाम प्रयोग गरेर हुँदैन।”

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार पार्टी र क्षेत्र दुबै अचानक परिवर्तन गर्नुले उम्मेदवारको प्रतिबद्धता र निष्ठामाथि गम्भीर प्रश्न उठाउँछ। बारा–३ जस्तो संवेदनशील निर्वाचन क्षेत्रमा उम्मेदवारले स्पष्ट भिजन, स्थानीय मुद्दाप्रति गहिरो बुझाइ र दीर्घकालीन योजना प्रस्तुत गर्नुपर्ने उनीहरूको भनाइ छ।

हाल बारा–३ मा इन्जिनियर साहको उम्मेदवारी केवल ‘नाम र नारामै सीमित’ भएको आरोप बलियो बन्दै गएको छ। आगामी दिनमा उनले जनताको आशंका चिर्ने ठोस कार्यक्रम र स्पष्ट ऐजेण्डा ल्याउँछन् कि ल्याउँदैनन्, त्यो भने हेर्न बाँकी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button