बारा, १९ माघ
बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका–१, जयनगर (चिउटाहा) स्थित श्री रामचरित्र माध्यमिक विद्यालयको आयोजनामा शिक्षासेवी तथा विद्यालयका संस्थापक स्वर्गीय रामचरित्र प्रसाद जैसवारको ६३औँ स्मृति दिवस भव्य रूपमा सम्पन्न भएको छ।
शिक्षाको उज्यालोबाट कोही पनि वञ्चित नहोस् भन्ने महान उद्देश्यका साथ स्व. जैसवारले करिब ६ दशकअघि आफ्नै जग्गा दान गरी बाराको दुर्गम क्षेत्रमा विद्यालय स्थापना गर्नुभएको थियो। उहाँकै योगदानको सम्मानस्वरूप विद्यालयले हरेक वर्ष स्मृति दिवस मनाउँदै आएको छ।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद साहले गर्नुभएको थियो भने शिक्षा तथा समन्वय इकाई बारा प्रमुख अशोक कुमार जैसवार (रौनियार) प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
प्रमुख अतिथि जैसवारले स्व. रामचरित्र जैसवारको शिक्षा क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै उहाँलाई विद्यालयका जन्मदाताका रूपमा स्मरण गर्नुभयो। उहाँले सरकारले २०८४ सालसम्म देशका सबै पालिकालाई साक्षर घोषणा गर्ने लक्ष्य लिएको जानकारी दिनुहुँदै कुनै पनि पालिकाले १२ मध्ये कम्तीमा ७ वटा शिक्षा सूचकांक पूरा गरेमा साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान रहेको स्पष्ट पार्नुभयो।
उहाँले आगामी दुई वर्षभित्र निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी पूरा गर्ने सरकारी योजना रहेको उल्लेख गर्दै शिक्षा विकासका लागि केवल प्रतिबद्धता होइन, ठोस नीति, योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। साथै, स्व. जैसवारले देखाएको मार्गलाई सबैले अनुसरण गर्दै समाज सेवामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा आदर्शकोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसाद साहले शिक्षा क्षेत्रको विकासका लागि पालिका प्रतिबद्ध रहेको बताउनुभयो। शिक्षक अभाव हुन नदिन पालिकाबाट बजेट विनियोजन गरी आवश्यक शिक्षकको व्यवस्था गरिएको जानकारी दिँदै उहाँले शिक्षा सुधारका लागि निरन्तर प्रयास भइरहेको उल्लेख गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रम अध्यक्ष दिनेश प्रसाद साहले विद्यालयको सर्वांगीण विकासका लागि आफू निरन्तर खटिरहेको बताउनुभयो। दुर्गम क्षेत्रमा अवस्थित भए पनि गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराखिएको उल्लेख गर्दै उहाँले विद्यालयमा साधारण शिक्षासँगै प्राविधिक शिक्षाको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो। हाल विद्यालयमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा शिक्षक संघ मधेस प्रदेशका उपाध्यक्ष अवधकिशोर गिरी, वडा नम्बर १ का वडा अध्यक्ष शुनिल कुशवाहा, शिक्षक, समाजसेवी, शिक्षाप्रेमी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले स्व. रामचरित्र प्रसाद जैसवारले शिक्षा र समाज विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
श्रद्धाञ्जली, मन्तव्य तथा शिक्षा विकाससम्बन्धी प्रतिबद्धतासहित सम्पन्न कार्यक्रममा शिक्षा विकासमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको सन्देश प्रवाह भएको आयोजकले जनाएका छन्।