बारा–२ मा जनमत र रास्वपाका उम्मेदवारप्रति जनविश्वास, सिए राजेश साह र चन्दन सिंह चुनावी मैदानमा अगाडि

8

बारा , १९ माघ

बारा क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। यस क्षेत्रमा जनमत पार्टीका उम्मेदवार सिए राजेश साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चन्दन सिंह प्रति जनताको भरोसा रहेको स्थानीय तहमा व्यापक चर्चा हुन थालेको छ।

जनमत पार्टीबाट उम्मेदवारी दिएका सिए राजेश साह उच्च शिक्षा हासिल गरेका चार्टर्ड एकाउन्टेन्ट (सिए) हुन्। पेशागत दक्षता, आर्थिक व्यवस्थापनको ज्ञान र पारदर्शी सोचका कारण साहलाई बौद्धिक तथा सक्षम नेताका रूपमा हेरिएको छ। स्थानीयका अनुसार साह केवल कागजी भाषणमा सीमित नभई जनताको सुख–दुःखमा प्रत्यक्ष उभिने, समस्या सुन्ने र समाधान खोज्ने नेताका रूपमा परिचित छन्।

उता, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चन्दन सिंह राजनीतिक रूपमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा देखिन्छन्। उनी पहिलो स्थानीय तह निर्वाचनबाट देवताल गाउँपालिकाको गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका थिए। स्थानीय तहको नेतृत्व गर्दै प्रशासनिक अनुभव हासिल गरेका सिंहलाई विकास, सुशासन र जवाफदेहितामा केन्द्रित नेताका रूपमा मतदाताले मूल्यांकन गरिरहेका छन्।

फागुन २१ गते हुने निर्वाचनलाई ‘जेन–जी आन्दोलन’ र परिवर्तनको नारासँग जोड्दै दुवै उम्मेदवार चुनावी मैदानमा सक्रिय छन्। परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले युवामैत्री सोच, जवाफदेही नेतृत्व र भ्रष्टाचारविरुद्धको अडान प्रस्तुत गर्दै दुवै जनाले मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

बारा–२ का गाउँ–गाउँ र टोल–टोलमा उम्मेदवारहरू जनसम्पर्क अभियानमा जुटिरहेका छन्। स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्यको पहुँच, कृषि र आर्थिक सशक्तीकरणजस्ता मुद्दालाई केन्द्रमा राख्दै उनीहरूले जनताको समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार यसपटक बारा–२ मा परम्परागत दलप्रतिको निराशाबीच नयाँ सोच र फरक पहिचान बोकेका उम्मेदवारहरूतर्फ जनआकर्षण बढेको छ। “यसपटक योग्य, इमानदार र काम गर्ने प्रतिनिधि चाहिएको छ” भन्ने आवाज स्थानीयस्तरमा बलियो बन्दै गएको देखिन्छ।

जनमत पार्टीका सिए राजेश साह र रास्वपाका चन्दन सिंह दुवैले जनताको साथ र सहयोगको आश्वासन पाउँदै आएको स्थानीयको भनाइ छ। निर्वाचन मिति नजिकिँदै जाँदा बारा–२ मा कसको पक्षमा जनमत बढी सशक्त बन्छ भन्ने विषयले राजनीतिक चासो थप बढाएको छ।

Leave A Reply

Your email address will not be published.