कलैया, १९ माघ
नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा जनचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले आयोजित १ दिने अभिमुखीकरण कार्यक्रम आज कलैया उपमहानगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।
कलैया उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरभित्रका सम्पूर्ण वडाका स्वास्थ्य कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रादेशिक अस्पताल कलैयाका निमित्त कार्यालय प्रमुख अजय गुप्ताले प्रशिक्षण प्रदान गरेका थिए।
प्रशिक्षणका क्रममा गुप्ताले समाजमा सर्ने रोगको रोकथामतर्फ सबैको ध्यान केन्द्रित भए पनि नसर्ने रोगहरू—जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुरोग, क्यान्सरजस्ता रोग—का कारण पनि धेरै मानिसको अकालमै ज्यान जाने गरेको उल्लेख गरे। उनले नसर्ने रोगको समयमै पहिचान, नियमित स्क्रिनिङ तथा उपचारले मृत्यु दर घटाउन सकिने भन्दै जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताए। “नसर्ने रोग दीर्घकालीन भए पनि सही जानकारी, जीवनशैली सुधार र नियमित स्वास्थ्य परीक्षणबाट नियन्त्रण सम्भव छ,” उनले भने।
कार्यक्रममा नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख शैलेश महतोले उपमहानगरपालिकाले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए। उनले यस किसिमका अभिमुखीकरण कार्यक्रमले वडास्तरमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा सहभागी वडाका स्वास्थ्य कार्यालय प्रमुखहरूले नसर्ने रोगसम्बन्धी स्क्रिनिङ, तथ्यांक संकलन, जोखिम समूह पहिचान तथा समुदायस्तरमा जनचेतना फैलाउने उपायबारे छलफल गरेका थिए। कार्यक्रमले नगरभित्र नसर्ने रोगसम्बन्धी सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।