मधेशसमाचार

कलैया ट्राफिक प्रहरीको मनपरी असुली ? इन्चार्ज मण्डलमाथि गम्भीर गुनासो

कलैया ट्राफिक प्रहरीको मनपरी असुली ? इन्चार्ज मण्डलमाथि गम्भीर गुनासो

कलैया , १९ माघ

अस्थायी ट्राफिक प्रहरी कार्यालय कलैयाका इन्चार्ज प्रहरी सहायक निरीक्षक जितेन्द्र मण्डल सेवाग्राही तथा सर्वसाधारणलाई धाकधम्की दिने शैलीमा प्रस्तुत हुँदै आएको गुनासो बढ्दै गएको छ। स्थानीयका अनुसार मण्डलको कमाण्डमा खटिएको ट्राफिक प्रहरीले कलैया बजारको ट्राफिक व्यवस्थापन गर्न नसक्नुका साथै खुलेआम अवैध असुली गरिरहेको आरोप लागेको छ।

स्थानीय व्यापारी तथा सवारी चालकहरूले माछा बोक्ने गाडी, तरकारी ढुवानी गर्ने सवारी, अटो रिक्सा, ई–रिक्सा, मालबाहक गाडीदेखि भारतीय नम्बर प्लेटका सवारी साधनबाट समेत निर्वाध रूपमा रकम असुली भइरहेको बताएका छन्। ट्राफिक नियम कार्यान्वयनभन्दा पनि असुलीमा केन्द्रित देखिएको भन्दै यस विषयमा यसअघि समेत समाचार प्रकाशन भइसकेको छ।

यसैबीच सोमबार एक मोटरसाइकल चालकसँग सवारी चालक अनुमतिपत्र र सवारी किताब हुँदाहुँदै पनि रु एक हजार लिई छाडिएको गुनासो प्राप्त भएको छ। उक्त घटनाबारे बुझ्न प्रहरी सहायक निरीक्षक मण्डलसँग सम्पर्क गर्न खोज्दा उनी दिनभर निजगढमा रहेको भन्दै आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्। साथै, “यसरी मलाई फोनमा धर्काउने काम नगर्नुस्, अफिसमा आएर भेट्नुस्” भन्दै फोन काटिदिएको पीडित पक्षको दाबी छ।

स्थानीय राकेश पाण्डेयले ट्राफिक प्रहरीको व्यवहारप्रति आक्रोश व्यक्त गर्दै भने,

“प्रहरी मेरो साथी भन्ने नारा केवल कागजमै सीमित भएको छ। इन्चार्ज मण्डलको व्यवहारले जनतामा प्रहरीप्रतिको विश्वास गुम्दै गएको छ।”

स्थानीयहरूका अनुसार ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ भने अवैध असुलीका कारण सर्वसाधारण दैनिक रूपमा हैरानी खेप्न बाध्य छन्। यस विषयमा सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीमाथि कारबाही नगरे कलैयामा ट्राफिक प्रहरीप्रति जनआक्रोश थप चुलिने चेतावनी स्थानीयहरूले दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button