मधेशसमाचार

बारा–३ मा मतदाताको बहस : अनुभवी नेतृत्व कि प्रयोग ? मन्सूरतर्फ झुक्दै जनमत

कलैया, २० माघ

बारा निर्वाचन क्षेत्र नम्बर–३ मा फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा मतदाताहरूबीच अब नाराभन्दा नेतृत्वको गुणस्तरबारे गहिरो बहस सुरु भएको छ। विकास, सुशासन र इमानदार प्रतिनिधित्वका सवालमा केन्द्रित यस बहसमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मन्सूरको नाम मतदाताहरूको साझा छलफलमा बारम्बार उठ्न थालेको छ।

स्थानीय बासिन्दाहरूका अनुसार विगतका अनुभवले बारा–३ ले भावनात्मक राजनीति होइन, स्थायित्व र परिणाम दिने नेतृत्व खोजिरहेको छ। यही सन्दर्भमा स्वच्छ छवि, सरल जीवनशैली र लामो राजनीतिक अनुभव बोकेका मन्सूरलाई मत दिनुपर्ने आवाज बलियो बन्दै गएको देखिन्छ।

एक स्थानीय मतदाताले भने,

“हामीलाई भाषण गर्ने नेता होइन, काम गर्ने प्रतिनिधि चाहिएको हो। फरमुल्लाह मन्सूरले कहिल्यै पनि भ्रष्टाचार वा पदको दुरुपयोग गरेनन्, यही कारण हामी उनलाई विश्वास गर्न सक्छौं।”

शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीजस्ता आधारभूत विषयमा निरन्तर आवाज उठाउँदै आएका मन्सूरको राजनीतिक यात्राले उनलाई बारा–३ का मतदातामाझ भरोसायोग्य पात्रका रूपमा स्थापित गरेको नागरिक समाजका प्रतिनिधिहरूको भनाइ छ। कांग्रेसका स्थानीय अगुवाहरूका अनुसार उनले जनतासँग प्रत्यक्ष संवाद गर्ने, समस्या सुन्ने र त्यसलाई नीति निर्माण तहसम्म पुर्‍याउने क्षमताको व्यवहारिक उदाहरण प्रस्तुत गरिसकेका छन्।

यस क्षेत्रका बुद्धिजीवी तथा युवाहरू पनि भावनात्मक नाराभन्दा विवेकपूर्ण निर्णय गर्नुपर्ने पक्षमा देखिएका छन्।

“क्षणिक लोकप्रियताले होइन, दीर्घकालीन विकासले क्षेत्र बदलिन्छ,” एक युवा मतदाताले भने, “अनुभव र इमानदारीको हिसाबले मन्सूर सबैभन्दा उपयुक्त देखिन्छन्।”

विशेष कुरा के छ भने, बारा–३ मा मन्सूरको लोकप्रियता जातीय वा क्षेत्रीय विभाजनभन्दा माथि उठेर फैलिएको देखिन्छ। कलैया बजारदेखि उत्तरी र दक्षिणी भेगसम्म विभिन्न वर्ग, समुदाय र उमेर समूहका मतदाताहरूले उनको योगदानको खुलेर प्रशंसा गर्न थालेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार जातपातको राजनीति नअँगालेर युवाजोश र अनुभवी संयोजन देखाउन सक्नु नै मन्सूरको बढ्दो लोकप्रियताको कारण हो।

यता उम्मेदवार मन्सूर स्वयंले राजनीति जनताको सेवा गर्ने माध्यमबाहेक केही नभएको प्रतिक्रिया दिएका छन्।

“मैले सधैं जनताको सर्वोच्चतालाई केन्द्रमा राखेर राजनीति गरेको छु,” उनले भने, “बारा–३ का मतदाताको असल सेवक बनेर क्षेत्रको विकासको जिम्मेवारी पूरा गर्ने मेरो प्रतिबद्धता छ।”

उनले नेपाली कांग्रेसभित्र नयाँ युगको सुरुवात भएको उल्लेख गर्दै देश र जनताले गर्व गर्न सक्ने परिवर्तन कांग्रेसले देखाउने विश्वाससमेत व्यक्त गरेका छन्।

निर्वाचन नजिकिँदै जाँदा बारा–३ मा अब प्रश्न स्पष्ट हुँदै गएको देखिन्छ— अनुभव, इमानदारी र स्थायित्व रोज्ने कि फेरि प्रयोग ?

हालको जनचर्चाले भने मतदाताको झुकाव फरमुल्लाह मन्सूरतर्फ बढ्दै गएको संकेत गरिरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button